जनकपुरधाम, १५ फागुन । मिथिलाको प्रमुख सांस्कृतिक र धार्मिक उत्सव मानिएको मिथिला परिक्रमा आजदेखि विधिवत सुरु भएको छ । यस परिक्रमालाई संसारकै सबैभन्दा लामो धार्मिक पदयात्रामा मानिन्छ । यस परिक्रमालाई मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको प्रतीकको रूपमा चिनिन्छ । परिक्रमा १५ दिनसम्म चल्नेछ । यसमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं साधु–सन्त र श्रद्धालुहरू सहभागी भएका छन् ।

मिथिला परिक्रमा प्राचीन मिथिलाको धार्मिक स्थल र मन्दिरहरूको महत्वलाई उजागर गर्ने एक प्रमुख धार्मिक यात्रा हो । परिक्रमा सुरु भएको स्थान जनकपुरधाम हो । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको डोला सुरु भएको छ । परिक्रमा फागुन कृष्णपक्षको औंसीका दिन प्रारम्भ हुने परम्परा अनुसार भक्तजनहरू हनुमाननगरमा विश्राम गर्दै शुक्रवार विहान भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन् ।

परिक्रमा मार्गमा १ सय ३३ किलोमिटरको यात्रा तय गर्दै नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूमा श्रद्धालुहरूले विश्राम गर्ने परम्परा छ । मिथिला महात्म्यअनुसार १८औं शताब्दीको अन्त्यतिर यस परिक्रमा यात्राको प्रारम्भ भएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवका अनुसार यो परिक्रमा यात्रा धार्मिक र सांस्कृतिक सद्भावको प्रतीक बनेको छ ।

मिथिला परिक्रमा केवल एक यात्रा नभएर भक्तजनहरूको आस्था र श्रद्धाको भीमकाय प्रतीक हो । यसमा सहभागी हुनु भनेको पाप नष्ट गर्न, मनोकामना पूरा गर्न र मोक्ष प्राप्ति गर्ने एक उपायको रूपमा लिइन्छ । परिक्रमा यात्रामा सहभागी भक्तजनहरू दिनभरि यात्रा गर्दा भजनकिर्तन र सत्संग गरेर रात बिताउँछन् । परिक्रमा मार्गमा १५ विश्रामस्थल रहेका छन् जसमा धार्मिक उत्सव र पूजा आयोजना गरिन्छ ।

मिथिला परिक्रमा यात्राको मार्ग नेपाल र भारतका प्रमुख धार्मिक स्थलहरू हुँदै जान्छ । प्रत्येक दिनको विश्रामस्थल निम्नानुसार छन् :

पहिलो दिन : जनकपुरधामबाट यात्रा सुरु गरी हनुमाननगर पुगिन्छ । त्यहाँ १६० वर्ष पुरानो हनुमान मन्दिर छ ।
दोस्रो दिन : कल्याणेश्वर (भारत) मा विश्राम । यसको पनि आफ्नै ऐतिहासिक महत्त्व छ ।
तेश्रो दिन : गिरिजास्थान (भारत) मा विश्राम । यहाँ सीताजीले फूल टिपेर भगवान रामसँग पहिलो भेट गरेको जनविश्वास छ ।
चौथो दिन : मटिहानी (नेपाल) पुगिन्छ । यहाँ पुरातात्विक महत्त्वका मन्दिर र पोखरीहरू छन् ।
पाँचौं दिन : जलेश्वरनाथ महादेवको दर्शनका लागि महोत्तरीको जलेश्वर पुगिन्छ । यहाँ शिवलिङ्ग सधैं जलमा डुबेको हुन्छ ।
छैटौं दिन :  यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन् ।
सातौं दिन : सातौं दिनको विश्रामस्थल धु्रंव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।
आठौं दिन :  यात्रीहरुको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौं दिन : यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुर स्ति क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।
दसौं दिन : यस दिन यात्रीहरु धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करिब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ ।

एघारौं दिन : यात्रीहरुको एघारौं दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।
बार्हौ दिन : यात्रीहरुको बार्हौ दिनको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेश्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरु कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।
तेर्हौ दिन : भारतको विशौल परिक्रमा यात्रीहरुको तेर्हौ दिनको गन्तव्य हो ।
चौधौं दिन : चौधौं दिन परिक्रमा यात्रीहरु करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै छ ।
पन्ध्रौ दिन : यस दिन परिक्रमाका यात्रीहरु जनकपुरधाम आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरधाममा विश्राम गरी पूर्णिमाको विहानै जनकपुरधामको पञ्चकोसी परिक्रमा (अन्गगृह) पछि श्रद्धालुहरु जानकी मन्दिर लगायत अन्य मठ मन्दिरहरुमा दर्शन, पूजन गरी घर फर्कन्छन् ।

यसरी, यात्राको प्रत्येक दिनका विश्रामस्थलहरू धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण छन् । यात्रामा सहभागी भक्तजनहरू यहाँ विभिन्न पूजा र अर्चना गर्दै श्रद्धासहित विश्राम गर्छन् ।
मिथिला परिक्रमामा लाखौं श्रद्धालुहरूको भीडको व्यवस्थापन गर्न सरकारी र गैरसरकारी संस्थाहरूले विशेष पहल गरेका छन् । यात्रामा सहभागी भक्तजनहरूका लागि स्थानिय बासिन्दाले अन्न, दाउरा, पराल र अन्य आवश्यक सामग्री उपलब्ध गराउने परम्परा पनि रहेको छ । यसका साथै, परिक्रमा यात्रा मार्गमा पानी, सर्वत, औषधि, नास्ता जस्ता सामग्रीको व्यवस्था गरिएको हुन्छ ।

मिथिला परिक्रमा नेपालको धनुषा र महोत्तरी जिल्लाका १३ विश्रामस्थल र भारतको बिहार राज्यका २ विश्रामस्थलमा विभाजित छ । यस धार्मिक यात्रा जसले नेपाल र भारतबीचको सांस्कृतिक र धार्मिक एकता झल्काउँछ । मिथिला क्षेत्रमा गहिरो धार्मिक महत्त्व राख्दछ ।

यस्तो एउटा विशाल धार्मिक यात्रा जहाँ हजारौं यात्रु र लाखौं श्रद्धालुहरूको सहभागिता रहन्छ । यसले मिथिलाको धार्मिक र सांस्कृतिक धरोहरलाई जीवित राख्न मद्दत पुर्याउँछ । यात्रा समाप्त भएपछि श्रद्धालुहरू जनकपुरधामको पञ्चकोसी परिक्रमा र अन्य मठ–मन्दिरहरूको दर्शन गरी घर फर्कन्छन् । यसरी मिथिला परिक्रमा १५ दिनको धार्मिक यात्रा सम्पन्न हुन्छ । यसले भक्तिमय वातावरण र धार्मिक सद्भावको सन्देश फैलाउँछ ।