सुनसरी, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले मिटरब्याज पीडितका समस्यामा ध्यान नदिएको आरोप लगाएका छन् ।

आज सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उनले मिटरब्याज पीडितका लागि बनाइएको कानुनी प्रावधान अझै प्रभावकारी रूपमा कार्यान्वयन नगरी वर्तमान सरकारले माफिया, भ्रष्टाचार र बिचौलियाको पक्षमा काम गरिरहेको बताएका छन् ।

‘हामीले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानूनी व्यवस्था बनाए पनि यो सरकारले त्यसको कार्यान्वयनमा ध्यान दिएको छैन,’ उनले भने ।

प्रचण्डले माओवादी नेतृत्वको सरकारले कृषि क्षेत्रको सुधारका लागि गरेको काम र विद्यार्थीलाई समयमै पाठ्यपुस्तक वितरण गर्ने कार्यलाई सरकारको ध्यान नदिँदै गरेको पनि आरोप लगाए ।

उनले आफूले नेतृत्व गरेको अघिल्लो सरकारले नागरिकता विवादका मुद्दामा नागरिकताबिहीन व्यक्तिलाई नागरिकता दिने कानूनी व्यवस्था गरे पनि त्यो अझै प्रभावकारी रुपमा लागू नभएको गुनासो जनाउँदै भने, ‘यो त केवल सुनिएको समस्या मात्र होइन, यो साँचो मुद्दा हो ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारको आलोचना गर्दै भने, ‘यो सरकार जनताको हक र अधिकार खोस्न चाहन्छ । संविधान संशोधनको बहानामा जनताको अधिकारलाई हानि पुर्याउन चाहन्छ । तर, जनताको शक्ति र एकता यो सम्भव नहुने प्रमाण हो ।’

उनले जनयुद्धको समयमा देवानगन्ज पालिकाले महत्वपूर्ण योगदान गरेको र यस क्षेत्रका जनताले गरेको ऐतिहासिक योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताए । प्रचण्डले अझै पनि मधेसको कृषिमा ठूलो सम्भावना रहेको भन्दै कृषि क्षेत्रका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए । उनले कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्रहरू स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।