जनकपुरधाम, १५ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माणमा कानूनी जटिलताले असर पुर्याएको स्वीकार गर्दै काममा ढिलाइ भएको जानकारी दिएका छन् ।

उनले आगामी दिनमा निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने आशा व्यक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले जनकपुरधाममा रंगशालाको निर्माण कार्यमा भएको ढिलाइको कारणबारे जानकारी दिँदै भने, ‘पहिला यो प्रोजेक्ट राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरिएको थियो । तर, पछि त्यो प्रक्रिया रद्द गरेर गुठी संस्थानमा ट्रान्सफर गरिएको छ । यस क्रममा कानूनी प्रक्रिया र प्राविधिक त्रुटिहरूका कारण काममा ढिलाइ भएको हो ।’

मुख्यमन्त्री सिंहले फागुन १९ गते बोर्डबाट पास भएको जानकारी प्राप्त भएको छ र अब डीपीआर तयार भएकोले तुरुन्तै मन्त्रीपरिषदको निर्णयमा प्रक्रिया अगाडि बढाउने तयारी रहेको बताए ।

मुख्यमन्त्री सिंहका अनुसार २०२२ को पुष महिनामा नै राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थानसँग सम्झौतासमेत गरिएको थियो । त्यसपछि पनि कानूनी प्रक्रियामा झन्झटका कारण टेन्डर प्रक्रिया र निर्माण कार्यमा ढिलाइ भएको उनले बताए ।

उनले यस अघि भनेका थिए, ‘हाम्रो टाइमलाइन अनुसार अहिलेसम्म टेन्डरसमेत गर्नुपर्ने थियो । तर, कानूनी र प्राविधिक जटिलताका कारण ढिलाइ भएको हो ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुरधामको विकासका लागि १ अर्ब रुपैयाँ दिने घोषणा गरिएको थियो । तर, सो रकम अहिलेसम्म खर्च नभएको स्वीकार गर्दै मुख्यमन्त्री सिंहले अब उक्त रकम रंगशाला निर्माणका लागि प्रयोग गरिने जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री मोदीद्वारा घोषणा गरिएको १ अर्ब रकम अब रंगशाला निर्माणमा लगानी गरिनेछ । र, थप १ अर्ब रुपैयाँ प्रदेश सरकारले लगानी गर्नेछ ।’

रंगशालाको निर्माणको लागि अनुमानित लागत साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म आउने जनाउँदै मुख्यमन्त्री सिंहले यस रंगशालाले जनकपुरधामको खेलकुद वातावरणलाई सुदृढ पार्ने र यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।