महोत्तरी, १७ फागुन । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरूको स्वागत तथा परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले फागुन २० गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर प्रमुख हरिप्रसाद मण्डलका अनुसार धार्मिक तथा सांस्कृतिक महत्वको यस परिक्रमाका यात्रीलाई उचित स्वागत गर्न र नगरवासीहरूको सहभागिता सुनिश्चित गर्न बिदा दिइएको हो ।

यस धार्मिक यात्राको चौथो दिन आइतबार ‘डोला’ (श्रीराम र सीताको प्रतिमा राखिएको डोली) सहितका तीर्थयात्री मटिहानी आइपुग्ने परम्परा रहँदै आएको छ । महोत्तरी जिल्लामा प्रवेश गर्ने पहिलो प्रमुख स्थान मटिहानी भएकाले यहाँ विशेष महत्त्व राख्ने परम्परा रहेको छ । मटिहानीसँगै पाँच रात परिक्रमा यात्री महोत्तरी जिल्लामै रहनेछन् ।

महोत्तरीमा परिक्रमा यात्राका पाँच प्रमुख विश्रामस्थल मटिहानी (चौथो दिन), जलेश्वर (पाँचौँ दिन), मडै, महोत्तरी गाउँपालिका (छैटौँ दिन), ध्रुवकुण्ड, बलवा नगरपालिका (सातौँ दिन) र कञ्चनवन, भङ्गहा नगरपालिका (आठौँ दिन) रहेका छन् ।

यी स्थानमा परिक्रमा यात्रीहरू ‘डोला’सहित पुग्दा विशेष मेला, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छ । मिथिला माध्यमिकी परिक्रमा मिथिलाको सबैभन्दा पुरानो धार्मिक तथा सांस्कृतिक पदयात्रा हो । परम्पराअनुसार धनुषाको मिथिला विहारी मन्दिर र जनकपुरधामको सुन्दरसदन मठबाट श्रीराम र सीताको प्रतिमा ‘डोला’मा राखी यात्रा सुरु गरिन्छ ।

यो यात्रा १५ रात बिताएर १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिन्छ । धनुषा, महोत्तरी र भारतको मधुवनी जिल्लाका महत्वपूर्ण धार्मिक स्थलहरू समेट्दै अगाडि बढ्ने यो परिक्रमा साधु–सन्त, गृहस्थ तीर्थयात्री तथा लाखौँ श्रद्धालुहरूको सहभागितामा सम्पन्न हुन्छ ।

मटिहानी नगरपालिकाले मात्र नभई महोत्तरीका अन्य चार नगरपालिकाहरू जलेश्वर, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भङ्गहा नगरपालिकाले पनि परिक्रमाका दिनमा सार्वजनिक बिदा दिने परम्परा पछ्याउँदै आएका छन् ।

मिथिला माध्यमिकी परिक्रमा न केवल धार्मिक आस्था, तर मिथिला क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पनि महत्त्वपूर्ण मानिन्छ । यस यात्राका क्रममा पर्यटकहरूले मिथिला चित्रकला, सांस्कृतिक सम्पदा, मठ–मन्दिर र स्थानीय परम्परा अवलोकन गर्न पाउँछन् ।

यस वर्ष पनि हजारौँ श्रद्धालुहरू परिक्रमामा सहभागी भएका छन् । स्थानीय प्रशासनले यात्रुहरूको सुरक्षा, खानपान, आवास तथा व्यवस्थापनका लागि तयारी पूरा भएको जनाएको छ ।