महोत्तरी, १७ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।

बर्दिवासका ८ वटा अस्पतालको अनुगमन गर्दै उनले ती अस्पतालहरूलाई सेवा सञ्चालन अनुमतिपत्र बिना सञ्चालनमा रहेका भन्दै तत्काल बन्द गर्ने आदेश दिएका हुन् ।

मुख्यमन्त्री सिंहले पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एण्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई बन्द गर्न आदेश दिएका छन् ।

उनले भने, ‘यी अस्पतालहरूलाई तत्काल बन्द गरिनु पर्छ । किनकि यी अस्पतालहरूमा सेवा सञ्चालन अनुमतिपत्र छैन । मापदण्ड पूरा नगरी सेवा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा र जनताका हकमा ठूलो खतरा उत्पन्न हुन सक्छ ।’

मुख्यमन्त्री सिंहले अस्पतालहरूको संचालनका लागि विधि र प्रक्रियाअनुसार मापदण्ड पूरा गरी मात्र सेवा सञ्चालन अनुमति प्राप्त गर्न निर्देशन दिएका छन् ।

बर्दिवासस्थित महेन्द्र डेन्टल क्लिनिक प्रालि भने सेवा सञ्चालन स्वीकृति प्राप्त अस्पतालका रूपमा चिनिएको छ । त्यस्तै, जनसेवा हस्पिटल प्रालि र डि.एन.बी मेडिकेयर सेन्टर प्रालिले सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण गर्नुपर्ने भएकोले मुख्यमन्त्री सिंहले उनीहरूलाई पनि सो प्रक्रिया पूरा गर्न आदेश दिएका छन् ।

मुख्यमन्त्री सिंहले भने, ‘केही समयदेखि म मापदण्डअनुसार अस्पतालहरूको अनुगमनमा संलग्न छु र यदि कुनै अस्पतालले स्वास्थ्य सेवा मापदण्ड पूरा नगरेको भए त्यो अस्पताल बन्द गर्नुपर्छ ।’

मुख्यमन्त्री सिंहको अनुगमनक्रममा सम्बन्धित मन्त्री, मुख्य सचिव र मुख्यमन्त्री कार्यालयका सचिवहरू अनुपस्थित रहेका कारण मुख्यमन्त्री कार्यालयमा तालमेलको अभाव भएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

सरकारका अधिकारीहरूको अनुपस्थितिलाई लिएर स्थानीय प्रशासन र विपक्षी दलहरूले केही प्रश्न उठाएका छन् । यसको समाधानका लागि मुख्यमन्त्री कार्यालयले आगामी दिनमा थप समन्वय र तालमेलको आवश्यकता रहेको स्वीकार गरेको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘आवश्यक तालमेल र समन्वयका लागि थप सुधारको आवश्यकता छ । म सरकारका सबै अधिकारीसँग यो प्रक्रिया सुधार गर्नको लागि छलफल गर्नेछु ।’