जनकपुरधाम, १७ फागुन । मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि मैथिली साहित्य समाजले निरन्तर गर्दै आएको मासिक कवि गोष्ठीको १३३औं शृङ्खला सफलतापूर्वक सम्पन्न भएको छ ।

नियमित साहित्यिक गतिविधिको रूपमा देशमै दुर्लभ रूपमा निरन्तरता पाइरहेको यो गोष्ठी मैथिली साहित्यमा महत्वपूर्ण योगदान दिइरहेको भन्दै सहभागीहरूले यसको उच्च प्रशंसा गरेका छन् ।

यस कवि गोष्ठीमा वक्ताहरूले जनकपुरधामलाई मैथिली साहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न कवि गोष्ठीले खेलेको भूमिकाको चर्चा गरे । नेकपा एमाले मधेश प्रदेश सभाका उपनेता दिपेन्द्र ठाकुरले कवि गोष्ठीलाई विश्व साहित्यमा मैथिली भाषा उचाइमा पुर्याउने अभियानको संज्ञा दिंदै आयोजकहरूलाई बधाई दिएका थिए ।

साहित्यकारहरूका अनुसार १ सय ३३ पटकसम्म अविरल रूपमा आयोजना भएको यो गोष्ठी मैथिली साहित्यको इतिहासमै एक महत्त्वपूर्ण उपलब्धि हो । सहभागीहरूले यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गर्न पहल गर्नुपर्ने सुझाव समेत राखे ।

यस पटकको गोष्ठीमा ६० भन्दा बढी चर्चित साहित्यकार तथा नवोदित कविहरूले आफ्नो सिर्जना प्रस्तुत गरे । प्रमुख वक्ताका रूपमा अयोध्याना चौधरी, डा. रेवतीरमणलाल दास, दिपक झा लगायत उपस्थित थिए । कविता वाचन गर्नेहरूमा काशीकान्त झा, सुनिल मल्लिक, डा. विरेन्द्र कुमार झा, प्रमोदानन्द झा, डा. गायत्री झा, धिरेन्द्र झा मैथिल, पुनम झा मैथिली, फुलेन्द्रलाल कर्ण, विजय यादव, वैद्यनाथ पासवान लगायतका थिए ।

यस कवि गोष्ठीले साहित्यिक आन्दोलनलाई सशक्त बनाउँदै मैथिली भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । आयोजकले यसलाई अझ व्यवस्थित बनाउँदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना रहेको बताए ।