जनकपुरधाम,फागुन १८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार राती सर्लाही जिल्लामा आठवटा निजी अस्पतालको अनुगमन गरेको छ । जसमा आठवटै अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ।

सर्लाहीको हरिवनमा दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालि,स्वाभिमान अस्पताल प्रा।लि,सरस्वती हस्पिटल प्रा।लि,लिलावती होस्पिटल र लालबन्दीस्थित भानू अञ्जली हस्पिटल प्रा।लि,रक्षा हेल्थ केयर हस्पिटल प्रा।लि र जय भावानी हेल्थ केयरले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश कुमार मिश्र र मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरसहितको टोलीले शनिबार अबेर रातिसम्म सर्लाहीको हरिवन र लालबन्दीस्थित अस्पतालहरूको अनुगमन गरेको थियो ।

मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको छ ।

प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनः सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको छ । यसका साथै, सरकारले निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको जनाएको छ ।