जनकपुरधाम, २० फागुन । मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले हालको राजनीतिक र प्रशासनिक स्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यदि यस्तै अवस्थामा केही दिनसम्म मन्त्री पदमा रहिरहे भने म डिप्रेसनमा जान सक्छु ।’ मन्त्री यादवका अनुसार प्रदेश सरकारको वर्तमान अवस्था गम्भीर छ । यसले उनलाई मानसिक रूपमा निकै दबाबमा पारिरहेको छ ।

जनकपुरधाममा आयोजित प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री यादवले प्रदेशको सरकारको सञ्चालनमा धेरै समस्याहरू रहेको बताए । उनले पत्रकारहरूको अति दबाब र योजनाहरूको मागले उनलाई समस्यामा पारेको गुनासो गरे ।

यादवले भने, ‘एक पत्रकारले मलाई फोन गरेर सहयोग गर्नुस्, नभए लेखिदिन्छु, अर्का पत्रकारले मलाई फलानो योजना दिनुस् भन्ने गर्दछन् । यसकारण म आज यहाँ बौद्धिक व्यक्तित्वहरूको मञ्चमा आफ्नो दुखेसो राख्दैछु, ताकि हामीलाई काम गर्ने वातावरण बनाइदिनुहोस् ।’

मन्त्री यादवले गठबन्धन सरकारको सञ्चालन गर्दा चार दलका बीचमा समन्वयको कमी र स्थिरता नहुनुको कारण सरकार सञ्चालनमा कठिनाइ भोगिरहेको बताए ।

उनले भने, ‘मैले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतृत्व गरिरहे पनि स्थिरता र विकासको लागि त्याग गर्दै चौथो दलको नेतृत्व स्वीकार गरेर अघि बढ्न तयार भएको छु ।’

सरकारका विभिन्न दलहरू र तिनका मन्त्रीहरू बीचमा आपसी तानातान र असहकार्यका कारण प्रदेश सरकारको काममा अवरोध आउनु गरेको मन्त्री यादवको भनाइ थियो । उनले मुख्यमन्त्रीलाई बारम्बार आग्रह गरेको भए पनि सरकारमा समन्वय र सहकार्य कायम गर्न नसकेको गुनासो गरे ।

‘मैले मुख्यमन्त्रीलाई बारम्बार आग्रह गरेपनि दलहरू र मन्त्रीहरूलाई नियन्त्रण गर्न सकिरहेको छैन,’ उनले भने ।

उनको गुनासो भनेको मात्र पार्टीको आन्तरिक समस्यामा सीमित थिएन । उनले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा विज्ञापन र योजनाको माग गर्दै पत्रकारहरूले दबाब बनाएको उल्लेख गरे । यसले मन्त्री यादवलाई असहज अवस्थामा पुर्याएको छ । उनले भने, ‘पत्रकारहरूले मेरो मन्त्रालयबाट विज्ञापन र योजनाको माग गर्दै मलाई धम्की दिएका छन् ।’

मन्त्री यादवले सरकारका मुख्य तीन दल—नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय जनत पार्टी—बीचको आपसी तानातानको कारण मधेश प्रदेशको विकास र सञ्चालनमा गम्भीर समस्या आएको उल्लेख गरे ।

उनले भने, ‘सार्वजनिक रुपमा मैले बारम्बार भनेको छु कि संघीयता बचाउन र मधेशको हितका लागि सबै दलहरू एकजुट हुन आवश्यक छ ।’