सिरहा,फागुन २१ गते । सिरहाको नवराजपुरकी रिंकु कुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

गत माघ २७ गते राति शौच गर्न बाहिर गएकी रिंकुलाई स्थानीय तीन युवाले सामूहिक बलात्कार गरेका थिए। घटनालाई गाउँमै मिलाउने प्रयासस्वरूप माघ २९ र ३० गते पञ्चायत बसेको थियो।

पञ्चायतले पीडकहरूलाई १ लाख ४० हजार जरिवाना तिर्न लगाउने तथा पीडित परिवारलाई प्रहरीमा उजुरी गर्न नदिने निर्णय गरेको थियो। तर, सम्झौता नमिल्दा पीडक पक्षको धम्कीका कारण माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।