जनकपुरधाम,फागुन २१ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको गौर राइस मिल क्षेत्रको जग्गा अधिग्रहण प्रक्रियालाई तिव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

बुधबार मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री सिंहले गौर राइस मिल क्षेत्रको भूभाग गुम्न नदिन प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरिएको छ। कानुनी जटिलता, स्रोत व्यवस्थापनको अभाव, र संरक्षण प्रयासहरूको कमीका कारण संकटमा परेको गौर राइस मिल क्षेत्रको उचित व्यवस्थापन गर्न आवश्यक पहल थालिने जनाइएको छ।

विज्ञप्ति अनुसार, प्रदेश सरकार स्तरबाट जग्गा अधिग्रहण सम्भव भए त्यसका लागि आवश्यक कानुनी प्रावधानहरूको विस्तृत अध्ययन गर्न मुख्यमन्त्री सिंहले मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएका छन्।

गौरबासीको भावना र गौरवसँग प्रत्यक्ष जोडिएको गौर राइस मिलको जग्गा अधिग्रहण गर्न जुनसुकै उपाय अबलम्बन गरिने मुख्यमन्त्री सिंहले स्पष्ट पारेका छन्। साथै, जग्गा अधिग्रहणका लागि मुआब्जा प्रक्रिया सुनिश्चित गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न प्रदेश सरकारले तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मुख्यमन्त्री सिंहले गौर राइस मिलको जग्गा गौरवासीकै हुनुपर्ने उल्लेख गर्दै हतारमा कुनै पनि निर्णय कार्यान्वयन नगर्न गौर नगरपालिका तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।