जनकपुरधाम, २१ फागुन । जनकपुरधाम लगायत धनुषाको बजारमा नक्कली चुरोटको विक्री वितरण बढेकोले बुधबार धनुषाको प्रमुख बजारमा अनुगमन गरिएको छ । भारतबाट अवैध तरिकाले भित्रिएका सूर्या नेपालको खुकुरी चुरोटको नक्कली चुरोटका बट्टाहरु बजारमा अनुगमनको क्रममा भेटिएको हो ।

सूर्या नेपालको प्रतिनिधी, प्रहरी, पत्रकारलगायतको टिमले धनुषाको विभिन्न ठाउँमा अनुगमन गर्दा सयौंको संख्यामा खुकुरी चुरोटको नक्कली प्याकेटहरु बरामद गरिएको छ ।

धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वामा करण अर्जुन किराना पसलबाट दस प्याकेट, मिथिला बिहारी नगरपालिकाको विभिन्न किरानाबाट सयौं चुरोटका बट्टाहरु खुलेआम विक्री वितरण भइरहेको पाइएको छ ।

खुकुरी चुरोट जस्तै ठयाक्कै कपी गरिएको नक्कली चुरोटको बट्टामा गोल्ड स्टेप टोवाको प्राइभेट लिमिटेडको नाम लेखिएको छ भने उक्त कम्पनीको चुरोट पाँच रुपैयाँमा विक्री वितरण हुँदै आएको देखिएको छ । जबकि सूर्या टोवाकोले उत्पादन गरेको खुकुरी चुरोट दस रुपैयाँ प्रति खिल्ली विक्री वितरण हँुदै आएको छ ।

सूर्या टोवाकोका कम्पनी प्रतिनिधीका अनुसार खुकुरी चुरोटको नक्कली बट्टाहरु भारतबाट उत्पादन भई चोरबाटो भएर नेपालमा प्रवेश गरि मधेशका पसलहरु पुर्याईदै आएको अवस्था छ भने यस विषयमा विभिन्न पसलमा पटक पटक अनुगमन गरि नक्कली चुरोट बेचे कानुनी कारवाहीमा जाने भनेर चेतावनी दिएपनि विक्री वितरण नरोकिएको बताए ।

उनले भारतबाट खुलेआम खुकुरी फिल्टर प्रवेश गराएर सरकारको करोडौं राजश्वको क्षति गराएपनि सम्बन्धित निकाय मौन रहेको बताए । यता बुधबार अनुगमनबाट प्राप्त नक्कली चुरोटहरुलाई प्रहरीको जिम्मा लगाइएको छ भने नक्कली चुरोटहरुलाई नष्ट गरिने बताइएको छ ।

oplus_2

नक्कली र सक्कली चुरोटका सम्बन्धमा सूर्य नेपाल प्रालिका जनकपुरधाम क्षेत्रका एरिया म्यानेजर प्रकाश भण्डारीले सक्कलीमा गाढा रातो रङको डिब्बा छ भने नक्कलीमा कम रातो रहेको बताए ।