महोत्तरी, फागुन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उनले औद्योगिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । उनले भने, “हामीलाई अब आत्मनिर्भर बन्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले कृषि तथा उद्योगमा योगदान दिन सक्छन्, जसमा प्रदेश सरकारहरू पनि सहकार्य गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यबिना समृद्धि हासिल नहुने बताउँदै कागज उद्योग स्थापनाले सीप विकास र रोजगारी सिर्जनामा टेवा पुग्ने उल्लेख गरे । उनका अनुसार, स्वदेशमै कागज उत्पादन गर्दा व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ ।

सरकारको मुख्य उद्देश्य देशको समग्र विकास रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका पूर्वाधार योजनाहरूलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उनले कानुनी शासनको आवश्यकतामा जोड दिँदै अब अराजकता र जालझेल स्वीकार्य नहुने बताए ।

आइएमई ग्रुपद्वारा स्थापना गरिएको यस उद्योग सञ्चालनमा आएपछि पुनः प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिनेछ। यसले कागज आयातमा कमी ल्याउनुका साथै करिब तीन सय जनालाई रोजगारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।