जनकपुरधाम,फागुन २७ गते । झुठा मुद्दामा जेल जीवन काटिरहेका धनुषाका दलित समुदायका एक व्यक्तिको रिहाई भएको छ ।

उचित कानुनी प्रतिरक्षा नपाई करिब ४ वर्ष देखि थुनामा रहदै आएका धनुषा नक्टाझिजका प्रगास महरालाई डिजे ल एसोसिएट्सले थुनामुक्त गराउन सफल भएको छ ।

दलित समुदायका अत्यन्तै कमजोर आर्थिक अवस्था भएका साहु संग ऋण लिई करिब चार वर्ष अगाडि वैदेशिक रोजगारमा दुवई पुगेका प्रगास महरा दुवई जांदा कम्पनीले राहदानी खोसी शारिरीक यातना तथा दुःख दिन थाले पछि कम्पनीबाट भागेर नेपालको रोजगार कम्पनीलाई सम्पर्क गरेका थिए । रोजगार कम्पनिले अर्को काम लगाई दिने भनेकोमा त्यसो नगरि नेपाल फर्काई दिन्छु भनेको र नेपाल फर्काउने क्रममा बहिनीको विवाह छ बहिनीको लागि गिफ्ट लगि देउ भनि एउटा सुट्केस दिएको भनि एसोसिएट्सले जारी गरेको नोट्समा भनेको छ ।

सोही सुट्केस लिएर नेपाल आउँदा त्रिभुवन विमानस्थलमा चेकजाँचको क्रममा सुट्केस भित्र रहेको प्रेशर कुकरको हिटिङ्ग पेलेटमा सुन बरामद भई महरा उपर सुन चोरी पैठारी मुद्दा दायर भएकोमा कानुनी प्रतिरक्षा विहिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फैसला हुंदा कैद र जरिवाना बापत ८ वर्ष कैदमा बस्नु पर्ने भनि फैसला भएको थियो ।

दुई वर्ष पश्चात महराका परिवारका सदस्यहरुने डिजे ल एसोशीएट्समा सम्पर्क गर्दा निशुल्क कानुनी सेवा दिई रिटको माध्यमबाट पुन पुनरावेदन म्याद जारी गराई पुनरावेदन दर्ता गराएपछि सोही अनुसार पुनरावेदनको रोहमा आज सुनुवाई हुँदा ठूलो प्रयास पश्चात आजबाट थुना मुक्त गरिएको एशोसिएट्सले जनाएको छ ।