बुटवल, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बुधबार रुपन्देहीको ओमसतिया–६ मा रहेको राम जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन् ।

यस अवसरमा प्रचण्डले धार्मिक र ऐतिहासिक महत्व बोकेका यस्ता संरचनाहरूको निर्माणले स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।

शिलान्यास कार्यक्रममा प्रचण्डले भने, ‘यस्ता ताल र पार्कहरूको निर्माणले रुपन्देहीको धार्मिक र ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्दै पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोल्नेछ ।’ उनले स्थानीय पर्यटनलाई थप प्रोत्साहन दिनका लागि यस्ता संरचनाहरू अन्य ठाउँमा पनि बनाउनुपर्ने बताएका छन् । साथै, बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए ।

प्रचण्डले धार्मिक र सांस्कृतिक स्थलहरूको संरक्षणका लागि सरकारको विशेष ध्यान जानुपर्ने पनि बताएका छन् । उनले स्थानीय, प्रदेश र संघीय तहबाट मिलेर यस्ता संरचनाहरूको विकास र संरक्षणमा सक्रियतासाथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

ताल संरक्षण समितिका अध्यक्ष र ओमसतिया–६ का वडाअध्यक्ष शिव कुमार धवलले पार्क निर्माणले आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको बताए । उनका अनुसार यसले क्षेत्रीय विकासमा ठूलो योगदान पुर्याउनेछ र यहाँका स्थानीय समुदायलाई पनि आर्थिक रूपमा फाइदा हुनेछ ।

प्रचण्डको कार्यक्रममा सहभागी भएका अन्य नेताहरूले पनि उक्त परियोजनालाई सकारात्मक कदमको रूपमा लिएका छन् ।

प्रचण्डले बुटवल उपमहानगरपालिकामा समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय गरेका छन् । बुटवलका पहिरो प्रभावित क्षेत्रका स्थानीयवासी विभिन्न समस्यामा परेका छन् । प्रचण्डले स्थलगत निरीक्षण गरी समाधानका उपायहरूका बारेमा स्थानीय तहसँग समन्वय गरिने बताएका छन् ।