रौतहट, २८ फागुन । रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान र दुईवटा मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ गरिएको युवक गौर नगरपालिका–४ टीकुलियाका २५ वर्षीय भोला साह रहेका छन् ।

प्रहरीका अनुसार भन्सार छली गरी भारतीय बजारबाट नेपाल भित्र्याइएको मोटर पाट्र्स, कपडा, किराना सामग्रीलगायत विभिन्न सामानको मूल्य करिब १ लाख ७५ हजार रुपैयाँ रहेको छ । साथै, दुईवटा मोटरसाइकल—विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८० पनि बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जनाइएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले होलीको अवसर पारेर नेपाली र भारतीय तस्करहरूले चोर बाटोमार्फत अवैध सामान नेपाल भित्र्याउने प्रयास गरिरहेको जानकारी दिएका छन् ।

प्रहरीले हालसम्मका विभिन्न पक्राउ परेका घटनाबाट बुझाएको तथ्यका आधारमा अवैध सामानको कारोबार रोक्न कडा कदम चालिने जनाइएको छ । रौतहट प्रहरीले भन्सार छली र तस्करीका घटनाहरूलाई जाँच गर्दै आवश्यक कारबाही अघि बढाउने वचन पनि दिएको छ ।