जनकपुरधाम, २८ फागुन । मिथिलाका संस्कृतिका प्रमुख पर्वमध्ये एक होली पर्वको विशेष महत्त्व छ । यस वर्षको होली उत्सव जनकपुरधाममा सखी बहिनपा मिथिलानी समूहद्वारा विशेष धुमधामसँग मनाएको हो ।

उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाचगान र रंगहरूको पर्वले कार्यक्रमलाई एक उत्साही र रंगीन वातावरणमा परिणत गरिदियो ।

सखी बहिनपा मिथिलानी समूहले होलीको उल्लासलाई झल्काउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको थियो । यस समूहले न केवल परम्परागत होली खेलाउने, तर त्यसका साथै मिथिला क्षेत्रका लोक गीत र नाच गान प्रस्तुत गरेर सांस्कृतिक विरासतलाई सम्मान दिने प्रयास गरेको हो ।

स्थानीय कलाकारहरूले मिथिला संस्कृति र परम्परालाई समेटेर आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । उत्सवको मुख्य आकर्षण भनेको स्थानीय लोकनृत्य र होली गीतहरूको प्रस्तुत थियो । युवायुवतीहरू, बालबालिका र बृद्धबृद्धासमेत सबै मिलेर रंगको त्योहारी उत्सवमा रमाएका हुन् । रंग, पानी र संगीतको मिश्रणले कार्यक्रमलाई एक उत्साही स्थलमा परिणत गरिदियो ।

कार्यक्रममा सहभागी भएका सखी बहिनपा मिथिलानी समूहका सदस्यहरूले यस उत्सवलाई सामाजिक र सांस्कृतिक एकताका रूपमा परिभाषित गरे । उनीहरुका अनुसार यस प्रकारका कार्यक्रमले समुदाय बीचको आपसी सम्बन्धलाई सुदृढ पार्नका साथै पुराना परम्पराहरूलाई जिवित राख्न मद्दत पुर्याउँछन् ।

सहभागीहरूले समूहको प्रयासको प्रशंसा गर्दै यस्तो सांस्कृतिक गतिविधि समय समयमा आयोजना गर्नुपर्ने बताएका छन् ।