रञ्जन भण्डारी
महोत्तरी,फागुन २९ गते । यस पटक भक्चोन्हरको सम्मान नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित अध्यक्ष महेश कुमार दासलाई प्रदान गरिएको छ भने ढहलेल श्रीको उपाधीबाट कवि काशिकान्त झा विभुषित भएका छन् ।

समाजमा विशेष योगदान पुर्याउनेलाई थप उर्जा प्रदान गर्न उक्त विशेष उपाधी प्रदान गरिदै आएको छ । कार्यक्रममा अध्यक्ष झाले उपाधी व्यंगात्मक कोणबाट प्रदान गरिएपनि यसको भाव उपाधी पाउनेको सम्मान गर्नु नै रहेकोले यसको मर्यादा राखिराख्न आग्रह गरे ।

मिथिला साँस्कृतिक विकास केन्द्रका अध्यक्ष ताराकान्त झाले अध्यक्षता गरेको सो कार्यक्रममा मिथिला साँस्कृतिक विकास केन्द्रले प्रत्येक वर्ष मनाउदै आएको फगुवा फुरदंग कार्यक्रम यस पटक पनि भव्यताका साथ सम्पन्न गरेको छ ।

मिथिलामा होली संस्कृतिसंग जोडिएकोले यसलाई बचाउन मिथिला साँस्कृतिक विकास केन्द्रले प्रत्येक वर्ष होलीको अवसरमा होलीका लोकगित(होरैया),कविता लगायतका विविध विद्याहरु प्रस्तुत गर्दै मनाउदै आएको छ । यस पटक भारतको मधुवनीबाट आएका भाइरल कलाकार सोनु र हिमांशुले फगुवा फुरदंगको कार्यक्रमलाई थप उर्जा दिए ।

त्यस्तै टिकटकमा भाइरल रहेकि नवकवयित्री मिस आर्टले भ्रष्टाचार उपर जोडदार कविता प्रस्तुत गरिन । कार्यक्रममा काशीकान्त झा,मनोज झा मुक्ति लगायतका कविहरु तथा होरैयाहरुले सहभागिहरुलाई मन्त्रमुग्ध बनाए ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार,मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल सहित जिल्लाका विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रमा पत्रकार विष्णु गुप्ता,प्रभु मिश्र र मनोज झा मुक्तीले उदघोषण गरेका थिए ।