जनकपुरधाम, १ चैत । धनुषाको धनुषाधाम नगरपालिकाको मालटोल नजिक रहेको पूर्वपश्चिम राजमार्गमा आज बिहान बस दुर्घटना भएको छ । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाको सूचना प्राप्त भएको केही समयपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादव घटनास्थलमा पुगेका थिए । उनले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते हुने यात्रुको संख्या २० भन्दा बढी रहेको छ । तीमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम र केहीको अवस्था गम्भीर छ ।

घटनास्थलमा प्रहरी र उद्धार दलले त्वरित उद्धारकार्य प्रारम्भ गरेका छन् । ६ वटा एम्बुलेन्समार्फत घाइते यात्रुहरुलाई नजिकका विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

प्रारम्भिक जानकारीका अनुसार बसमा अधिकांश यात्री १५ दिने मिथिला मध्य परिक्रमामा सहभागी भएर फर्किरहेका थिए । ती यात्रुहरुका अधिकांश गन्तव्य सिरहाको लहान रहेका थिए ।

प्रहरीले यस दुर्घटनाको कारण र थप विवरणहरु अनुसन्धान गरिरहेको छ ।