जनकपुरधाम, १ चैत । होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना लागू गरेको छ ।

पर्वको समयमा कुनै पनि अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले धनुषा प्रहरीले ५ सय प्रहरीको टोली तैनाथ गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ । यो सुरक्षा योजना बिहीबारदेखि नै लागू गरिएको हो । पर्वको हर्षोल्लासलाई सुरक्षित र शान्तिपूर्ण बनाउनको लागि यो कदम उठाइएको छ ।

प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीका अनुसार जनपथ, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको हो । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’

सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । पर्वको समयमा सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी नायव उपरिक्षक बरुण बहादुर सिंहको नेतृत्वमा विशेष टोली परिचालन गरिएको छ भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कमाण्ड पोस्ट राखिएको छ ।

प्रहरीले नगरप्रहरीसँग मिलेर मास मदिरा पसलहरूमा निरन्तर निगरानी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । यो प्रयास होली पर्वका समयमा कुनै पनि अव्यवस्थित गतिविधि रोक्न र शान्तिपूर्ण वातावरण सिर्जना गर्नको लागि गरिएको हो ।

धनुषा प्रहरीले शान्तिपूर्ण र सुरक्षित होली पर्वको सुनिश्चित गर्नको लागि स्थानीय निकायसँग समन्वय गर्दै यो सुरक्षा योजना बनाएको हो । प्रहरी प्रशासनले सबै नागरिकलाई नियमको पालना गर्न र सुरक्षित रूपमा होली मनाउनका लागि आह्वान गरेको छ ।

धनुषा प्रहरीले सर्वसाधारणलाई यथासम्भाव सुरक्षित वातावरणमा पर्वको आनन्द लिन पूर्ण तयारी गरेको जनाएको छ ।