जनकपुरधाम, ३ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित बिन्धीमा होली खेलिरहेको विषयमा विवाद हुँदा एक युवकको हत्या भएको छ । आफ्नै साथीले १८ वर्षीय आशु यादवलाई छुरा प्रहार गरी हत्या गरेको हो ।

यादवको छाती, पेट र डाढमा छुरा प्रहार गरिएको छ । गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल लगिंदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने बिन्धीकै २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।
हत्या किन के कारणले गरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।

यसैबिच, स्थानीयले छुरा प्रहारगरि हत्या गरिएका आशुको शव सडकमै राखेर प्रर्दशन गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

स्थानीयको प्रदर्शनले जलेश्वर–जनकपुर सडक खण्ड चल्ने सारीसाधानहरु पूर्णरुपले ठप्प भएका छन् ।