जनकपुरधाम, ३ चैत । धनुषाको सबैला नगरपालिका वडा नम्बर–९ भठिहनमा चोकको नामाकरणको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।

एक पक्षले चोकको नाम ‘यादव चोक’ राख्ने प्रस्ताव गरेको थियो भने अर्काे पक्षले विरोध जनाउँदै यो नामाकरणको निर्णयमा आपत्ति जनाएको थियो । विवादको क्रममा दुई पक्ष आपसमा भिड्न पुगेका थिए ।

झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले तत्काल हस्तक्षेप गरेको थियो । प्रहरीले स्थिति सामान्य बनाउन आश्रुग्यास प्रहार गरेको र केही समयपछि वातावरण शान्त भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पुष्टि गरे ।

प्रहरीका अनुसार चोकको नामाकरणको विषयमा विवाद चर्किदै जाँदा स्थानीय क्षेत्रमा तनावको स्थिति सिर्जना भएको थियो । झडपका कारण केही समयको लागि क्षेत्रीय वातावरण अस्थिर बनेको थियो । तर, प्रहरीले ठूलो संख्यामा बल प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

डिएसपी सिंहले भने, ‘झडपका कारण स्थिति तनावपूर्ण भएको थियो । तर, प्रहरीको सक्रियतासँगै अहिले परिस्थिति नियन्त्रणमा आएको छ । चोकको नामाकरणको विषयमा अर्को बैठक आयोजना गरेर यस विवादको समाधान गर्ने प्रयास गरिन्छ ।’

स्थानीय समुदायमा चोकको नामाकरणलाई लिएर विवाद बढ्दै गएको र यसले सामाजिक तनावलाई जन्माएको छ । प्रहरीले उक्त विवादलाई समाधान गर्नका लागि थप सुरक्षा व्यवस्था राख्ने योजना बनाएको जनाएको छ ।