काठमाडौँ, ३ चैत । ८ दलीय मधेसी मोर्चाले आफ्नो साझा एजेन्डा तय गरेको छ । प्रमुख बुँदामा संविधान संशोधन र निर्वाचन प्रणाली सुधारको विषय राखिएको छ । सरकारको विभिन्न ६ वटा अध्यादेशमा असहमतिका कारण मोर्चा पुनः सक्रिय हुने तयारीमा छ ।

यसअघि होली पर्व र अन्य कारणहरूले गर्दा मोर्चा केही समय निष्क्रिय जस्तो देखिएको थियो । तर, कार्यदलले आफ्नो काम गरिरहेको दाबी गरिएको छ । मधेसी मोर्चाले साझा एजेन्डा र आचारसंहिता तयार गर्नका लागि कार्यदल गठन गरेको थियो । कार्यदलमा जनता प्रगतिशील पार्टीका उपाध्यक्ष डा. शिवजी यादव, जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमन र राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेता केशव झा रहेका थिए । यस कार्यदलले मोर्चाको साझा मुद्दा र आचारसंहिता तयार गरिसकेको छ । अब मोर्चाका शीर्ष नेताहरूलाई बुझाउन तयारी गरिरहेको छ ।

कार्यदलका सदस्य मनीष सुमनका अनुसार, ‘अध्यादेश र होली पर्वका कारण मोर्चा निष्क्रिय जस्तो देखिएको थियो । तर, काम भइरहेको थियो । अब आचारसंहिता तयार भइसकेको छ । चाँडै मोर्चाका शीर्ष नेताहरूलाई बुझाइनेछ ।’

मधेसी मोर्चाको मुख्य एजेन्डा भनेको संविधान संशोधन हो । यसमा मधेसी, आदिवासी, जनजाति, दलित र पिछडिएका समुदायको हक, अधिकार र पहिचान सुनिश्चित गर्ने कुरा रहेको छ । कार्यदलका अनुसार संविधान संशोधनको नाममा प्राप्त उपलब्धिहरू गुम्ने गरी संशोधन गर्नु हुँदैन। यसमा मोर्चा सचेत रहनुपर्ने छ ।

सरकारको वर्तमान सत्ता गठबन्धन—कांग्रेस र एमालेले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाउने र दुई दलीय व्यवस्था लागू गर्ने योजनामा रहेको मोर्चाले चिन्ता व्यक्त गरेको छ । यस विरुद्धमा साझा संघर्ष गर्ने कार्यदलको निष्कर्ष रहेको छ ।

मधेसी मोर्चाले सरकारको राजनीतिक दल दर्तासम्बन्धी कानुनमा भइरहेको संशोधनप्रति पनि ध्यानाकर्षण गरेको छ । मोर्चाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिएको छ । स्थानीय तहका चुनाव गैरदलीय बनाउनुपर्ने र प्रदेश जनसंख्याका आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने जस्ता प्रस्ताव अघि सारेको छ ।

यी एजेन्डा प्रस्तावका रूपमा मोर्चाका शीर्ष नेताहरूको छलफलमा राखिनेछ र त्यसपछि निर्णय लिइनेछ ।

८ दलीय मधेसी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई लोकतान्त्रिक समाजवादी पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।