जनकपुरधाम, ३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी सदरमुकाम राजविराजस्थित निजी अस्पतालहरूको अनुगमन गरेका छन् ।

मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उनले राजविराजका सात वटा निजी अस्पतालको अनुगमन गरेका थिए । अनुगमनका क्रममा उनले नियम विपरीत सञ्चालन गरिरहेका दुई अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले अनुगमन गरेका अस्पतालमध्ये प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर नियमविपरीत सञ्चालन भइरहेको पाइएपछि ती अस्पताललाई तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटल ले स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति पत्र प्राप्त गरेको भएता पनि मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले ती अस्पताललाई दुई महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिएका छन् ।

युनिक सिटी अस्पतालको सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको अस्पताललाई पनि दुई महिनाभित्र नवीकरण गर्न भनिएको छ । यससँगै, मुख्यमन्त्री सिंहले अस्पतालहरूको मापदण्ड र सेवा गुणस्तर सुनिश्चित गर्न कडा निगरानी राख्नुपर्नेमा जोड दिएका छन् ।

छिन्नमस्ता अस्पतालको अवस्थालाई सन्तोषजनक पाइए पनि मुख्यमन्त्री सिंहले अस्पतालको सरसफाइ व्यवस्थापनमा थप ध्यान दिन निर्देशन दिएका छन् । उनले अस्पतालहरूको वातावरण र सफाई व्यवस्थापनलाई उच्च प्राथमिकता दिनुपर्ने कुरा औंल्याए ।