एजेन्सी, ३ चैत । उत्तरी म्यासेडोनियाको पूर्वी शहर कोकानीस्थित क्लब पल्समा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको मृत्यु भएको र १ सय भन्दा बढी घाइते भएका छन् ।

गृहमन्त्री पान्स टोस्कोभस्कीले दिएको जानकारीअनुसार उक्त आगलागीमा भारी मानविय क्षति भएको छ । घाइतेमध्ये धेरैजनालाई उपचारका लागि राजधानी स्कोप्जेमा पठाइएको छ ।

डीएनके नामक हिप–हप जोडीको कन्सर्ट हेर्नका लागि करीब एक हजार भन्दा बढी युवा प्रशंसकहरू क्लब पल्समा जम्मा भएका थिए । आगलागीको कारण एक्कासि फैलिएको ज्वालाले कन्सर्टका सहभागिहरूसँगै क्लबका अन्य उपस्थितिलाई पनि चपेटमा लियो ।

गृहमन्त्री टोस्कोभस्कीका अनुसार, ‘कन्सर्टमा लाइट इफेक्टका लागि प्रयोग गरिने पाइरोटेक्निक डिभाइसको प्रयोगका कारण आगलागी भएको हुन सक्छ । ज्वालाले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो । त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो ।’

घटनामा घाइते भएका व्यक्तिहरूको उद्धारका लागि हेलिकोप्टर पठाइएका थिए । केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पुर्याइएको छ । २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी सुरु भएको थियो । घटनाको भिडियोहरूमा, आगो लाग्नुअघि क्लबको ’स्टेज फाउन्टेन’ वा ’स्टेज जेट’ को प्रयोग देखाइएको थियो । यो एक प्रकारको आतिशबाजी हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका अन्य भिडियोमा क्लबको प्रवेशद्वारमा आगोको लप्काले कालो पारेको देखिएको छ । घटनाले ठूलो मात्रामा मानिसहरूको जीवन प्रभावित गरेको छ । यसले समग्र म्यासेडोनियामा गहिरो शोक उत्पन्न गरेको छ ।