महोत्तरी, ४ चैत । महोत्तरीको पडौल बजारमा शनिबार राति भएको ठुलो चोरी घटनाविरुद्ध स्थानीय व्यापारीहरु आन्दोलित हुँदै बजार बन्द गराएका छन्।

बलवा नगरपालिका–३, पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा लाखौँ मूल्य बराबरको सुनचाँदी चोरी भएपछि व्यापारीहरुले टायर बालेर प्रदर्शन गरेका छन्। शनिबार राति जीपमा आएका चोरहरूको समूहले लुटपाट गरी बर्दिबासतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको छ।

शिवशान्ति ज्वेलर्सका सञ्चालक अरुण कुमार साहका अनुसार, ५ जनाको समूहमा आएका चोरहरूले २० तोला सुन, १ लाख ५० हजार नगद, पसलमा रहेको भोल्ट (लकर), र सिसिटिभी क्यामराको हार्डडिस्क समेत चोरी गरेका छन्।

सुन पसलको सिसिटिभी क्यामराको हार्डडिस्क चोरी गरिएपछि नजिकै रहेका अन्य क्यामेरामा चोरी गर्न प्रयोग भएको जीप र संलग्न व्यक्तिहरूको गतिविधि कैद भएको छ। चोरी शनिबार राति भए पनि पसलका सञ्चालकलाई आइतबार बिहान ९ बजे मात्र थाहा भएको थियो।

बजारको अन्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेरा सञ्चालनमा नरहेको भन्दै स्थानीय व्यापारीहरुले प्रशासनको निष्क्रियताविरुद्ध नाराबाजी गर्दै बजार बन्द गरेका छन्। उनीहरूले तत्काल सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।