महोत्तरी, ६ चैत । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित टिकुलिया चोकमा सडक स्तरोन्नति योजना सञ्चालनको विषयलाई लिएर विवाद उत्पन्न भएपछि तनावको अवस्था सिर्जना भएको छ ।

मधेश प्रदेश सरकारले टिकुलिया बजारदेखि सहसौला जोड्ने सडक स्तरोन्नति योजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही योजनाको शिलान्यास गर्न भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव आउन लाग्दा नेकपा माओवादी केन्द्र समर्थित कार्यकर्ताहरूले अवरोध गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साह अर्थमन्त्री रहेका बेला उक्त योजना पारित भएकाले आफूहरूले नै यसको सञ्चालनको जिम्मेवारी पाउनुपर्ने माओवादी कार्यकर्ताहरूको माग छ । तर, मन्त्री यादवले वडाबाट समिति नबनाई सिधै पालिकाबाट उपभोक्ता समिति गठन गरेर योजना सञ्चालन गर्न लागेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको हो । योजनाको शिलान्यास गर्ने क्रममा असन्तुष्ट पक्षले नाराबाजी गर्दै अवरोध गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । शिलान्यास कार्यक्रमलाई कुनै बाधा नपरोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाइएको थियो । तर, असन्तुष्ट पक्ष र सुरक्षाकर्मीबीच सामान्य झडप समेत भएको बताइएको छ ।

शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मन्त्री यादव प्रहरीको सुरक्षा घेराबीच स्थलबाट फर्किएका छन् ।