काठमाडौं, ६ चैत । सरकारले आगामी रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाको निर्णयका बारेमा सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै भने, ‘रामनवमी पर्वको अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।’

बैठकले नेपालको संविधानको धारा ५३ तथा सुशासन व्यवस्थापन र सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत विश्व बैंकमार्फत प्राप्त अनुदान सहायता सम्बन्धी वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरिएको छ ।

सरकारले केही महत्त्वपूर्ण नियुक्ति निर्णयहरू पनि गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गरिएको छ । यसैगरी, शिक्षक सेवा आयोगको सदस्य पदमा पवित्रा सुवेदी (सुर्खेत) र रामशरण सापकोटा (मकवानपुर)लाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रहरी चौकी भकुण्डेबेसी (काभ्रेपलाञ्चोक) र प्रहरी चौकी पोखरी नारायणस्थान (साविक पोखरी नारायणस्थान गा.वि.स. वडा नं. ३०) का लागि क्रमशः ६(६ रोपनी सरकारी जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।