जनकपुरधाम, ७ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसहरूमा १५ दिनभित्र मतदान सम्पन्न गर्न निर्देशन दिएको छ । विद्यार्थी संगठनहरूबीचको विवादका कारण स्ववियु निर्वाचन प्रभावित भएका क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाउन त्रिविले ठोस कदम उठाएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार १५ दिनभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ । अधिकारीले भने, ‘निर्वाचन निर्देशिकामा निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन सम्पन्न गर्न सक्ने प्रावधान छ । त्यसकै आधारमा त्रिविले निर्देशन जारी गरेको छ ।’

निर्वाचनको समयमा देशभरका ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान सम्पन्न भएको भए पनि विद्यार्थी संगठनहरूको आन्तरिक विवादका कारण प्रमुख क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन ।

काठमाण्डौ उपत्यकाभित्रका त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस, विश्वभाषा क्याम्पस लगायतका प्रमुख क्याम्पसहरूमा मतदान हुन सकेको छैन ।

उपत्यका बाहिरका केही प्रमुख क्याम्पसहरू, जस्तै चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, भैरहवा, बुटवल, महेन्द्रनगर लगायतका क्याम्पसमा पनि निर्वाचन रोकिएको थियो ।

त्रिविको निर्देशनपछि यी क्याम्पसहरूमा अबको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्न तयारी थालिएको छ । त्रिविले यस कदमबाट विवाद समाधान गर्ने र बाँकी रहेका निर्वाचनहरू सम्पन्न गर्ने प्रयास थालेको हो ।

यसैबीच, विद्यार्थी संगठनहरूले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको लागि वातावरण बनाउन आग्रह गरेका छन् ।