सर्लाही, ७ चैत । सर्लाही जिल्लामा चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत दुई परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई परीक्षामा अनियमितता गरेको आरोपमा निष्कासित गरिएको छ ।

शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीका अनुसार यी निरीक्षकहरूलाई परीक्षार्थीहरुलाई चिट चोर्न सहयोग गरिरहेको अवस्थामा पक्रेर कारबाही गरिएको हो ।

रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय (बलरा नगरपालिका–४) मा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई परीक्षामा अनुचित सहयोग गरेको भेटिएको थियो ।

शिक्षा समन्वय इकाई कार्यालयका अधिकारीहरूले एसईई परीक्षा निष्पक्ष बनाउन यस्ता अमर्यादित क्रियाकलापमा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्ने नीति अपनाएको बताउँदै बाँकी परीक्षा केन्द्रहरूको अनुगमनलाई पनि थप कडा बनाउने घोषणा गरेका छन् ।

अन्य परीक्षा केन्द्रहरूबाट अद्यावधिक विवरण आउन बाँकी रहेको र अनियमितता नियन्त्रणका लागि शिक्षा इकाईले केन्द्रहरूमा निगरानी तीव्र पारेको छ ।

अधिकारीहरूले यो घटनालाई सर्लाही जिल्लाका परीक्षा केन्द्रहरूमा हुने सम्भावित अनियमितताहरूलाई नियन्त्रण गर्न चेतावनीको रूपमा लिएका छन् ।