काठमाडौं, चैत ७ गते – स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको महाअभियानमा सरिक हुन दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्।

राजधानीको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित भव्य कार्यक्रममार्फत अविरल लामा र विश्वास तामाङको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरूले पार्टीमा प्रवेश गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले देशमा लादिएको एकल पहिचान र शासन प्रणालीको अन्त्य गर्दै बहुल पहिचान र बहुल शासन व्यवस्था स्थापना गर्न राष्ट्रिय मुक्ति पार्टी दृढताका साथ अघि बढेको बताए। उनले पछिल्ला ३५ वर्षमा प्रमुख दलका शीर्ष नेताहरूले मुलुकलाई एकल नश्लीय चरित्रको आधारमा शासन चलाएकाले विविध समस्या उत्पन्न भएको र देश आर्थिक रूपमा कमजोर बनेको उल्लेख गरे। साथै, अर्थतन्त्र सुदृढ पार्न, पहिचानयुक्त अधिकार स्थापित गर्न, र स्वशासनको अभ्यास गर्न सबै नेपाली जनता एकजुट हुनुपर्ने उनले जोड दिए।

कार्यक्रममा पार्टीका नेताहरू बुद्ध छिरिङ मोक्तान, कौशल कुमार सिंह, सुमन सायमी, केशव झा, संतोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनिल महासेठ, रवीन्द्र कुमार श्रेष्ठलगायतले पार्टीको विचारधारा र भावी कार्यक्रमबारे सम्बोधन गरेका थिए।

यसअघि पनि विभिन्न चरणमा हजारौं नागरिक राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरिसकेका छन्, जसले पार्टीको प्रभाव बढ्दै गएको संकेत गर्दछ।