सिरहा, ७ चैत । सिरहाको औरही गाउँपालिका वडा नं ५ मा डोम समुदायका एक व्यक्तिको घर भत्काउने घटनाले गम्भीर सामाजिक विवाद उत्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव र यज्ञ आयोजक बजरंगी बाबूले मरिकको घर भत्काएको आरोप लागेको छ । यो घटनाले जातीय भेदभाव र छुवाछुतको गम्भीर प्रश्न उठाएको छ ।

१७ चैतबाट सुरू हुने विष्णु महायज्ञको तयारीको क्रममा महायज्ञका कर्ताधर्ता बजरंगी बाबूले अछूत डोम समुदायका घरको उपस्थितिलाई अस्वीकार गर्दै मरिकको घर भत्काउन निर्देशन दिएका थिए । पालिका अध्यक्ष यादवले उक्त कार्यलाई सर्मथन गर्दै जेसिभीको सहयोगले घर भत्काएको बताइएको छ ।

त्यसपछि, मरिकको घर मात्र भत्काइएन, उनको घरले छोएको माटोलाई पनि निकालेर फालिएको समाचारले सामाजिक र राजनीतिक तहमा व्यापक आलोचना निम्त्याएको छ । डोम समुदायका स्थानीयले यसको विरोध गर्दै छुवाछुत र जातीय विभेदको गम्भीर आरोप लगाएका छन् ।

घटना सार्वजनिक भएपछि प्रशासनले तीनै जनालाई पक्राउ गर्न खोजे पनि उनीहरू घटनास्थल छोडेर फरार भएका छन् । यस घटनामा स्थानीय समुदायले किटानी जाहेरी दिने तयारी गर्दै सामाजिक न्यायको लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

यस्तो घटनाले समाजमा विभाजन र असमानता फैलाउने मात्र नभई कानुनी र सामाजिक दृष्टिकोणले पनि खतरनाक असर पार्न सक्छ भन्ने चिन्ता व्यक्त गरिएको छ ।