जनकपुरधाम, ७ चैत । एसईई (माध्यमिक शिक्षा परीक्षा) को पहिलो दिनमै परीक्षामा अनियमितता हुन नदिन जिल्ला प्रहरी कार्यालय रौतहटले कडा कदम चालेको छ । परीक्षामा चिट चोराउने र सहयोग गर्ने दुई जनालाई नियन्त्रणमा लिएर कानूनी कारबाही सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीलाई अनुचित माध्यमबाट सहयोग पुर्याउन रकम लिएर मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको नाम गोप्य राखिएको भए पनि थप अनुसन्धानका लागि अदालतबाट अनुमति लिइएको छ ।

मधेश प्रदेशमा एसईईको पहिलो दिन रौतहट, धनुषा, लगायतका जिल्लाहरूमा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्बिरहरू सार्वजनिक भएसँगै प्रशासनले यो कदम चालेको हो । यो घटनाले अनियमितता रोक्न प्रहरीको सतर्कता र निगरानी बढेको देखाएको छ ।

प्रहरीले परीक्षाको मर्यादा भङ्ग गर्ने कार्यमा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्ने बताएको छ । प्रहरी प्रशासनले परीक्षाका केन्द्रहरूमा थप सुरक्षा व्यवस्था मिलाउँदै परीक्षाको विश्वसनीयता कायम राख्न प्रतिबद्ध रहेको जानकारी दिएको छ ।