सिरहा, ७ चैत । बिहीबार सिरहाको मिर्चैया नगरपालिका–५ अन्तर्गत महेन्द्र राजमार्गमा गुडिरहेको एक स्कारपिओ गाडीमा अचानक आगलागी भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा.१३ च १३२९ नम्बरको स्कारपिओको अघिल्लो भागमा आगो लागेपछि स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

गाडीका चालकले प्रारम्भिक बयानमा ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरेका छन् । तर, आगो लाग्नुको ठोस कारण हालसम्म पुष्टि हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले आगलागीको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएको बताए पनि आगलागीको वास्तविक कारण यकिन गर्न आवश्यक छ ।’

स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले आगलागीलाई समयमा नै नियन्त्रणमा लिएकाले ठूला क्षति हुनबाट जोगिएको छ । आगलागीबाट गाडीको अघिल्लो भागमा मात्र क्षति पुगेको र कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ ।