जनकपुरधाम, ७ चैत । होलीको दिन जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धीमा भएको १८ वर्षीय आशु यादवको हत्यापछि प्रदेशसभा सदस्य दिपेन्द्र कुमार ठाकुरले पीडित परिवारसँग भेटघाट गरेका छन् ।

ठाकुरले पीडित परिवारलाई न्याय दिलाउने प्रक्रिया अघि बढाउन र दोषीलाई कडा कारबाही गराउन आफू प्रतिबद्ध रहेको आश्वासन दिएका छन् ।

भेटघाटका क्रममा ठाकुरले पीडित परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । उनले परिवारलाई सहयोग गर्दै न्यायका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै पीडितको पक्षमा खडा हुने दृढता प्रकट गरे ।

घटना होलीको दिन सुरु भएको विवादपछि भएको थियो । यादवलाई आफ्नै साथी धर्मेन्द्र महतोले छुरा प्रहार गरेका थिए । छाती, पेट र ढाडमा छुरा प्रहार गरिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रदेशसभा सदस्य ठाकुरले परिवारको पीडा कम गर्न र दोषीलाई कानूनी रूपमा कारबाहीको दायरामा ल्याउन आफ्नो सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।