वीरगंज, चैत ८ गते । पर्सामा एकजना वडाध्यक्ष प्रहरीसहितको समूहबाट कुटिएका छन्। वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि आक्रमण भएको हो। न्यायको माग गर्दै उनी जिल्ला प्रहरी कार्यालय पुगेका छन्।

२९ फागुनको राति सवा ९ बजे वीरगंज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा उक्त घटना भएको हो। पार्टी प्यालेसका सञ्चालक वीरेंद्र पासवानका छोराको जन्मदिन तथा होली मित्रमिलन समारोहमा सहभागी भएका बेला वडाध्यक्ष चतुर्वेदीमाथि कुटपिट भएको हो।

वडाध्यक्ष चतुर्वेदीका अनुसार ६र७ जनाको समूहले उनलाई आक्रमण गरेको हो। सीसीटीभी फुटेजमा समेत घटना कैद भएको छ, जसमा उनीसहित अन्य तीन जना खानपानमा व्यस्त रहँदा एक व्यक्ति नजिक आइपुग्छ। त्यहाँ रहेका एक जना उठेर उनलाई बाहिर पठाउने प्रयास गर्छन्, तर ती व्यक्ति बाहिर जान अस्वीकार गर्छन्। त्यसपछि एक हुल मानिस अर्को ढोकाबाट जबरजस्ती प्रवेश गरी वडाध्यक्षमाथि आक्रमण गर्छ।

आक्रमणकारी समूहमा नेपाल प्रहरीका वरिष्ठ सईसमेत संलग्न रहेको आरोप छ। घटनामा नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगंज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगंज–११ का भुषण यादव, वीरगंज–३२ का भुसाल चौरसिया, वीरगंज–६ का विक्की गुप्ता, वीरगंज–१० का लखनलाल गुप्ता संलग्न रहेको वडाध्यक्ष चतुर्वेदीको दाबी छ।

४ चैतमा उजुरी दिएको भए पनि प्रहरीले तदारुकता नदेखाएको चतुर्वेदीको आरोप छ। एक सातापछि मात्रै एसपीले बोलाएको र छानबिन प्रक्रिया सुस्त रहेको उनको भनाइ छ। उनीमाथि यसअघि साइबर अपराधको मुद्दा चलेको र सोही कारण बदलास्वरूप आक्रमण भएको हुन सक्ने उनको आशंका छ।

यस विषयमा मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले प्रहरीकै संलग्नता देखिएको सीसीटीभी फुटेज रहेको बताएका छन्। ‘प्रहरी नै संलग्न भए पनि कानुनी कारबाही हुनेछ,’ डीआईजी आचार्यले भने। होलीको समयमा सामान्य विवाद हुनसक्ने तर उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढ्ने उनले स्पष्ट पारे।

यता, आक्रमणको आरोप लागेका वरिष्ठ सई राणा लामो समयदेखि तराई क्षेत्रमा सादा पोशाकमा कार्यरत थिए। उनलाई पहाडी जिल्लामा सरुवा गरिएको भए पनि हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको थियो। होलीको बिदामा घर गएका राणा घटनामा संलग्न भएको भिडिओ बाहिरिएपछि अनुसन्धानका लागि जनकपुर पठाइएको छ।

यसैबीच, वीरगंज–१० का वडाध्यक्ष कानुले भिडिओ तोडमोड गरेर आफूहरूलाई दोषी देखाउन खोजिएको दाबी गरेका छन्। उनका अनुसार आक्रमणमा उनीहरूको पक्षबाट पनि मानिस घाइते भएका छन्। उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

यस घटनाले प्रहरी प्रशासनको निष्पक्षता र न्यायिक प्रक्रियामा प्रश्न उठाएको छ। पीडित पक्ष न्यायको खोजीमा छन् भने प्रहरी प्रशासन छानबिनको प्रक्रियामा रहेको बताइन्छ।