जनकपुरधाम, ८ चैत । जनकपुरधामको स्वर्गद्वारीमा शवदाह गर्दा उठ्ने धुवाँले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै नेकपा एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुरले चिन्ता व्यक्त गरेका छन् ।

उनले शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै स्वर्गद्वारीका कारण सिर्जना भएको समस्याको समाधानका लागि तात्कालिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

ठाकुरले जनकपुरधामका समाजसेवी पवन सिंघानियाद्वारा निर्माण गरिएको स्वर्गद्वारीको धुवाँले यहाँका स्थानीय बासिन्दालाई स्वास्थ्य समस्यामा पारिरहेको र महामारीको जोखिम बढेको बताए । उनका अनुसार शवदाहका क्रममा उत्पन्न हुने धुवाँले सास फेर्न कठिनाई भएको र यसले दीर्घकालीन स्वास्थ्य समस्याको जन्म दिन सक्छ ।

‘स्वर्गद्वारीमा शवको अन्त्येष्टिका क्रममा उठ्ने धुवाँले स्थानीयबासीलाई असहज बनाइरहेको छ । यो स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ । मैले सम्बद्ध मन्त्रीको ध्यानाकर्षण गराएर इलेक्ट्रिक शवदाह गृहको व्यवस्थापन गर्न आग्रह गर्न चाहन्छु,’ ठाकुरले भने ।

जनकपुरधाममास्थित स्वर्गद्वारीको सञ्चालनपछि यहाँ शवदाहका लागि यस स्थानको प्रयोग सामान्य बनेको छ । तथापि, यतिबेला शवदाह गर्दा उठ्ने धुवाँले जनकपुरधामका बासिन्दाहरूलाई स्वास्थ्यको दृष्टिले चिन्तित बनाइरहेको उनको भनाइ छ ।