जनकपुरधाम,चैत १० गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चुरेको विनाश हाम्रै असावधानीले बढेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित चुरे तथा वन–जंगल संरक्षण अभियानको पहिलो राष्ट्रिय सम्मेलनको खुला सत्रमा बोल्दै सभामुख मण्डलले चुरे मधेशको मात्रै नभएर मुलुककै प्राण भएकोले यसप्रति गम्भीर हुन आग्रह गरे ।

उनले चुरे संरक्षणका लागि संघदेखि प्रदेशसम्म विभिन्न योजना बनाए पनि ती योजना अधुरा रहेको बताए । साथै, चुरे जोगाउन इमान्दारीता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘पानीको अभावले चुरे विनाश हुँदै गएको छ । यसलाई पुनःभरिने (रिचार्ज) गर्न चुरेमा जोडिएका नदीहरूलाई जलसंचय (स्टोरेज) गर्न आवश्यक छ । यसले माटो कटान रोक्ने र भूक्षयको समस्या समाधान गर्दै भू–जल स्तर बढाउनेछ ।’

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य रामअशिष यादवले चुरे विनाश रोक्न सरकार नै इमान्दार नभएको आरोप लगाए । उनले संघीय सरकारले जानाजान मधेशलाई बर्बाद पार्ने उद्देश्यले आवश्यक बजेट नदिएको तथा उपलब्ध बजेटलाई अधुरा योजनाहरूमा खर्च गरी चुरे विनाशलाई तीव्र बनाएको बताए ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे उत्थानका लागि गठन गरिएको समिति संघीय सरकारकै लापरबाहीका कारण प्रभावहीन बनेको धारणा राखे । उनले निजगढमा सयौं वर्ष पुराना रूखहरू विनाश गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनाले मधेशलाई संकटमा पार्ने बताए ।

कार्यक्रममा चुरे तथा वन–जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले विगत सात वर्षदेखि निरन्तर संघर्ष गर्दा पनि चुरे संरक्षणमा सरकारहरू गम्भीर नभएको आरोप लगाए । उनले भने, ‘सबैले भाषण त ठूला–ठूला दिन्छन्, तर काम गर्ने बेलामा कोही पनि इमानदार हुँदैनन् । चुरे विनाशले मधेशलाई नै खतरामा पार्छ भन्ने सबैलाई थाहा छ, तर भ्रष्टाचारकै कारण समस्या झन् जटिल बन्दै गएको छ ।’

उनले भूमिहीनलाई भूमि वितरण गर्ने नाममा भूमाफियाहरूलाई जमिन बाँडिएको तर वास्तविक भूमिहीनहरू अझै उपेक्षित रहेको उल्लेख गरे ।

कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निमित प्रमुख सुजित कुमार झाले परिवर्तत गर्न चाहे परिवर्त विरोधीहरुले कामै गर्न नदिएको दुखेसो पोखे । उनले आफु सिरहाको डिभिजन प्रमुख छदा वन क्षेत्रमा हुदै आएको वेथितीलाई समाप्त पार्नका लािग कदम अगाडी बढाउदा परिवर्तन विरोधीहरुलेनै आफुलाई काम गर्नबाट रोकेको बताउदै सरकारले नै आफुलाई काम गर्न नदिएर त्याहाबाट सरुवा गरेर प्रदेश निर्देशनालयमा पठाएको बताए । उनले भने,‘अब आवाज उठाउने मात्रै होइन त्यस्ता तत्वहरुलाई कारवाही पनि गर्नुपर्ने आवश्यक छ,जवसम्म जनताको डर त्यस्ता तत्वलाई हुदैन तवसम्म चुरे विनाश लिला भइरहन्छ ।’सम्मेलनमा देशभरका अभियानीहरूले चुरे संरक्षणबारे आ–आफ्ना धारणा राखेका थिए ।

सम्मेलनमा पर्यावरण क्षेत्रमा कलम चलाएर चुरे बचाउ अभियानमा साथ दिएका मधेशभरि चार दर्जन पत्रकारहरुलाई कदरपत्र र गमछा ओढाएर सम्मानीत समेत गरेको थियो ।