जनकपुरधाम, चैत १० । मधेश प्रदेशको प्रमुख स्वास्थ्य केन्द्र प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहका अनुसार, पूर्वमा दैनिक करिब २०० बिरामी आउने गरेकामा हाल व्यवस्थापन सुधारपछि दैनिक बिरामीको संख्या १,२०० पुगेको छ ।

अस्पतालले ‘हेल्प डेस्क’को व्यवस्था, भौतिक पूर्वाधार विस्तार तथा जनशक्ति व्यवस्थापन जस्ता सुधार कार्यक्रमहरू लागू गरेपछि सेवा चुस्तदुरुस्त भएको छ । साथै, तोकिएको समयमा उपस्थित नभएका तथा आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गरिन थालेपछि बिरामी र तिनका आफन्तजनबाट आउने गुनासोको संख्या घटेको निर्देशक सिंहले बताए ।

बिरामीका गुनासाहरू यथासक्य छिटो सम्बोधन गर्ने नीति अवलम्बन गरेपछि बिरामीको चाप वृद्धि भएको जनाएको छ ।

प्रयोगशाला प्रमुख प्रमेश्वर यादवका अनुसार, विगतमा उचित व्यवस्थापनको अभावले बिरामीहरू निजी अस्पताल जान बाध्य हुन्थे । तर, हाल सुधारपछि बहिरङ्ग सेवामार्फत दैनिक १,२०० बिरामी प्रादेशिक अस्पतालमै उपचार गराउन आउने गरेका छन् ।

अस्पतालको सामाजिक सुरक्षा विभागका डा. बद्री साहका अनुसार, गरिब तथा असहाय बिरामीहरूलाई निःशुल्क औषधि, उपचार तथा प्रयोगशाला सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा चिकित्सक, नर्स, प्राविधिक, प्रशासनिक कर्मचारी तथा सरसफाइकर्मीसहित करिब ५०० कर्मचारी कार्यरत रहेको प्रशासन प्रमुख फूलकुमार यादवले जानकारी दिए ।

व्यवस्थापन सुधारसँगै बिरामीहरूको चाप बढ्दै गएपछि अस्पतालले आगामी दिनमा सेवा विस्तार र थप जनशक्ति व्यवस्थापनको योजना बनाइरहेको जनाएको छ ।