जनकपुरधाम, ११ चैत । धनुषा जिल्लामा क्षयरोगको संक्रमण दर अत्यधिक वृद्धि भएको छ । सोमबार विश्व क्षयरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रमका दौरान जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारीपछि क्षयरोगका संक्रमितको संख्या तीव्र रूपमा बढेको जानकारी दिएका छन् ।

यादवका अनुसार विगत ६ महिनामा मात्रै ७३४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । मधेश प्रदेशभरि पर्सा जिल्लापछि सबैभन्दा बढी संक्रमित धनुषामा रहेका छन् । ‘अहिलेको अवस्थामा क्षयरोग महामारीको रुप लिँदै गएको छ,’ उनले भने ।

प्रमुख यादवले यस बृद्धिको कारणका रूपमा कोरोना महामारीपछि क्षयरोग नियन्त्रणमा ध्यान नदिइएको, समन्वयको कमी, औषधिको अभाव र बिरामीहरूले औषधि पूरा नगर्ने प्रवृत्तिका कारण चुनौती थपिएको बताए ।

‘क्षयरोगको संक्रमण दर नियन्त्रणमा ध्यान दिन नसके यो महामारीको रुप लिन सक्छ,’ यादवले चेतावनी दिए । उनले विशेषगरी जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र शहीदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । अन्य पालिकामा नियमित खकार जाँच र डट्स प्रविधि मार्फत उपचार भइरहेको पनि उनले बताए ।

यादवले क्षयरोगको संक्रमण नियन्त्रणका लागि सबै पक्षको सहकार्य अत्यन्त आवश्यक रहेको बताए । विशेष गरी बिरामीहरूले औषधि पूरा नगर्ने प्रवृत्तिमा सुधार ल्याउनु महत्त्वपूर्ण रहेको उनले जोड दिए ।

यसैबीच, स्वास्थ्य विभागका अधिकारीहरूले पनि क्षयरोग नियन्त्रणका लागि जागरुकता अभियान सञ्चालन गरिरहेका छन् ।

जनस्वास्थ्य कार्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी र सरकारी निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । विशेषज्ञहरूले नागरिकको सहयोग प्राप्त गर्न र क्षयरोगको संक्रमण दर नियन्त्रण गर्न अहिलेको अवस्थामा थप ध्यान र प्रयासको आवश्यकता रहेको बताए ।