सर्लाही, १२ चैत । सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ भोक्टेनीमा भएको एक बलात्कार घटनाले स्थानीय समुदायमा गहिरो असन्तोष उत्पन्न गरेको छ । ४५ वर्षीया महिलामाथि आफ्नै छिमेकीले बलात्कार गरेको घटनामा प्रमुख अभियुक्त अझै फरार रहँदा हाजिरी जमानीमा अभियुक्तलाई छुटाउने इन्द्रदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन २१ गते राति भएको यो घटना पीडित महिलाको कथन अनुसार योजनाबद्ध जस्तो देखिन्छ । छिमेकी जिवछ महतो कोईरीले घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेका थिए । भोलिपल्टै पीडित महिलाले इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएपछि प्रहरीले तात्कालिक रूपमा जिवछ महतोलाई पक्राउ गरेको थियो ।

फागुन २० गते जिवछ महतोकी आमाको निधन भएको कारण देखाउँदै अभियुक्तलाई हाजिरी जमानीमा इन्द्रदेव महतोले छुटाएका थिए । काज किरियापछि अभियुक्तलाई पुनः प्रहरी समक्ष उपस्थित गराउने सर्त थियो । तर, काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभई फरार भएका छन् ।

अभियुक्तको फरार भएपछि पीडित परिवारले घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाएका छन् । स्थानीय राजनीतिक नेताहरूले पीडित परिवारलाई १५ लाख रुपैयाँको सेटिङको प्रलोभन दिएर मुद्दा फिर्ता गराउन दवाव दिएको पनि खुलेको छ । पीडित परिवार भने न्यायका लागि संघर्षरत छ । तर, घटनालाई आर्थिक लाभका आधारमा मिलाउन खोजिएको उनीहरूको आरोप छ ।

अभियुक्त फरार भएपछि प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ । यो कदमले न्यायिक प्रक्रियामा देखिएको लापरवाहीमाथि प्रश्न उठाएको छ । प्रहरीको भनाइमा अभियुक्तको खोजी कार्य तीव्र पारिएको छ । तर, हालसम्म अभियुक्त जिवछ महतो फरार नै रहेका छन् ।

हाजिरी जमानीमा अभियुक्तलाई छुटाउनु र त्यसपछि अभियुक्तको फरार हुनुले न्यायप्राप्तिमा ढिलाइ हुने स्थिति सिर्जना गरेको छ । पीडित परिवारले न्यायिक प्रक्रिया पूरा हुने आशामा भए पनि राजनीतिक र आर्थिक दबाबका कारण न्याय पाउन ढिलाइ हुने देखिएको छ ।