जनकपुरधाम, १२ चैत । जनकपुरधाम उपमहानगरपालिकाले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नक्सा पास नगरी गरिएको कम्पाउण्ड वाल निर्माण कार्य रोक्न आदेश दिएको छ ।

प्रतिष्ठानले जनकपुरधाम–१३ स्थित जानकी मन्दिरको १८ विघा जग्गामा कलेज भवन निर्माणका लागि कम्पाउण्ड वाल बनाउँदै आएको थियो । तर, नक्सा पास नगरी गरिएको निर्माण कार्य र गुठीको सम्पत्तिको दुरुपयोगको आरोपले स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले प्रतिष्ठानलाई कानुनको पालना नगरी निर्माण रोक्न आदेश दिएको छ । मेयर मनोज कुमार साहले जनकपुरधाममा कानुन सबैका लागि समान भएको उल्लेख गर्दै प्रतिष्ठानले पनि सोही नियमको पालना गर्नुपर्ने बताए । ‘कसैलाई पनि नक्सा पास नगरी निर्माण गर्ने छुट छैन । चाहे त्यो प्रतिष्ठान होस् या व्यक्तिगत कुनै व्यक्ति,’ मेयर साहले भने ।

प्रतिष्ठानले लिजमा लिएको १८ विघा जग्गामा कम्पाउण्ड वाल बनाउने क्रममा दक्षिण, पश्चिम र उत्तरतिर बाटो छोडेर काम गरिरहेको छ । यसले गुठीको सम्पत्ति संरक्षणमा गम्भीर प्रश्न उठाएको छ । स्थानीयहरूले गुठीको जग्गा बर्बाद हुने आशंका गर्दै प्रतिवाद गरेका छन् । गुठीको सम्पत्ति व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएको आरोपमा स्थानीयबासीहरूले गुठी संस्थान र प्रतिष्ठानको मिलेमतो भएको दाबी गरेका छन् ।

यस विवादमा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह र अन्य उच्च पदाधिकारीहरूको समेत संलग्नता रहेको छ । फागुन १८ गते बसेको बैठकमा स्थानीय नेताहरूको सहमतिमा बाटो खुला गर्ने निर्णय भएको थियो । बैठकमा सहभागी भएका स्थानीयहरूको जग्गा कम्पाउण्ड वाल बनाइँदै गरेको बाटोमा पर्छ । यसले गर्दा उनीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।

स्थानीय बासिन्दाहरूले गुठीको सम्पत्तिको संरक्षणमा गुठी संस्थानले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाएका छन् । प्रतिष्ठानले लिजमा लिएको जग्गामा तीनतिर बाटो छोडेर कम्पाउण्ड वाल बनाइरहेको देखिएपछि स्थानीयहरूले गुठीलाई लिखित उजुरीसमेत दिएका थिए । तर, गुठीले सो समस्या समाधानका लागि ठोस कदम नचालेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले प्रतिष्ठानलाई तुरुन्तै काम रोक्न आदेश दिएको हो । प्रतिष्ठानले कानुनी प्रक्रिया नपुर्याएर गुठीको सम्पत्तिमा गैरकानुनी रूपमा निर्माण कार्य अघि बढाएको देखिएको छ । मेयर साहले भने, ‘प्रतिष्ठानको कार्यले यहाँका स्थानीयलाई फाइदा जनक हुनुपर्छ तर त्यो नियमसंगत हुनैपर्छ ।’