जनकपुरधाम, १२ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा अछुतको आधारमा दीपक मल्लिक र उनका परिवारसँग गरिएको जातीय भेदभाव र ज्यादतीको घटनाले ठूलो ध्यान आकर्षित गरेको छ । पीडित मल्लिकले आफू र आफ्नो परिवारलाई भइरहेको अत्याचार र असुरक्षाबारे मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटवार्ता गरेका छन् ।

महायज्ञका नाममा गरिएको अछुत व्यवहारको कारण मल्लिक र उनका परिवारलाई शारीरिक र मानसिक यातना सहनु परेको छ । महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाद्वारा डोजर लगाएर भत्काइदिएको थियो । मल्लिकले यस घटनामा जातीय छुवाछूतको आरोप लगाउँदै कानूनी कारवाहीको माग गरेका छन् ।

मंगलबार बिहान मल्लिक दलित अगुवा र अन्य समर्थकसहित मुख्यमन्त्री निवास पुगेका थिए । उनले मुख्यमन्त्रीलाई भने, ‘हाम्रो परिवारलाई गाउँपालिका अध्यक्ष र अन्य आरोपित व्यक्तिहरूले अदालतमा बयान बदल्न र मिलापत्र गर्न दबाब दिइरहेका छन् । यसकारण हामी लुकेर बस्न बाध्य भएका छौं । हाम्रो सुरक्षा खतरामा परेको छ ।’

मल्लिकले मुख्यमन्त्रीसँग भेट गर्दै आफ्नो परिवारको सुरक्षा र घरको व्यवस्था गर्नका लागि सहयोगको माग गरे । ‘मैले आफ्नो घर गुमाइसकेको छु । बस्ने कुनै सुरक्षित स्थान छैन । मलाई र मेरो परिवारलाई कानूनी संरक्षण र सुरक्षा दिनुहोस्,’ उनले भने ।

मुख्यमन्त्री सिंहले मल्लिकलाई सुरक्षा र घरको व्यवस्था गर्ने आश्वासन दिएका छन् । ‘तपाईंको समस्यामा हामी छिटो समाधान ल्याउने प्रयास गर्नेछौं । तपाईंलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गरिनेछ,’ मुख्यमन्त्री सिंहले भने ।

पीडित मल्लिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गरेका छन् । उनीहरूले जातीय भेदभाव र घर तोडफोड गर्ने तीन जनाविरुद्ध कानूनी कारवाहीको माग गर्दै न्यायको आशा व्यक्त गरेका छन् ।

घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो । उनीहरू अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा हिरासतमा छन् । बजरंगी बाबाको भने अझै खोजी भइरहेको छ ।