सर्लाही, चैत १२ गते । चन्द्रनगर गाउँपालिकाले बालविवाह रोकथाम तथा छोरीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विशेष अभियान सञ्चालन गरेको छ । यसैअन्तर्गत, प्लस २ पास गरी २० वर्ष उमेरमा विवाह गरेका १३ छोरीलाई जनही रु. ५० हजार तथा स्नातक तहमा अध्ययनरत २३ छोरीलाई जनही रु. ११ हजारको आर्थिक सहयोग प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोका अनुसार, बालविवाह न्यूनीकरण र छोरीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन दिन यो योजना ल्याइएको हो । चन्द्रनगरमा ५०% भन्दा बढी बालविवाह हुने तथ्यांकलाई मध्यनजर गर्दै यो कदम चालिएको हो ।

महिला अधिकारकर्मीहरूका अनुसार, यस योजनाले बालविवाह न्यूनीकरण मात्र होइन, समाजको सोच परिवर्तन गर्न र छोरीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । गाउँपालिकाले यस अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।