जनकपुरधाम, १६ चैत । पत्रकार सुरेश रजकको निर्मम हत्या र सञ्चारगृहमा भएको आगजनीप्रति आक्रोश व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध र्‍यालीको आयोजना गरेको छ । यो घटना प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको भन्दै स्थानीय पत्रकारहरु आन्दोलित भएका छन् ।

प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

विरोध र्‍याली धनुषा शाखाको कार्यालयबाट सुरु भई जनकपुरधामका मुख्य चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले आन्दोलनको नाममा पत्रकारको हत्या हुनु र मिडिया संस्थामाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिको खुला चुनौती भएको बताए । उनले सञ्चारगृहहरुमाथिको आक्रमणका घटनाहरुको कडा निन्दा गर्दै सञ्चार माध्यमको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘मुख्यमन्त्रीदेखि सत्ताधारी नेताहरुले पत्रकारमाथि टिक्का टिप्पणी गर्ने प्रवृत्ति निरन्तर बढिरहेको छ । यसले पत्रकारको सुरक्षा र स्वतन्त्रता खतरामा परेको छ,’ उनले भने ।

गुप्ताले सुरेश रजकलाई शहीद घोषणा गर्न र सञ्चारगृहमा भएको क्षतिलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग पनि गरे । उनले पत्रकारहरुलाई संगठित भएर प्रेस स्वतन्त्रताका लागि एकजुट हुन आह्वान गरे ।

धनुषाका पत्रकारहरुले शान्तिपूर्ण विरोध गर्दै दिवंगत रजकलाई श्रद्धाञ्जली अर्पणसहित दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।