जनकपुरधाम, १७ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ मा रहेको सार्वजनिक मन्दिरको जग्गामा मधेश प्रदेशका सांसद जंगीलाल राय यादवका छोरा डाक्टर अमित यादवले अवैध निर्माण कार्य जारी राखेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् । राजनीतिक शक्तिको आडमा सार्वजनिक सम्पत्तिमा अवैध रूपमा पर्खाल निर्माण गरिरहेको आरोप लगाउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

चैत १५ गते बिहान वडा नम्बर–१४ का स्थानीयले मन्दिरको सार्वजनिक जग्गामा पर्खाल निर्माण गर्दै गरेको देखेपछि विवाद सुरु भएको थियो । स्थानीयले तत्काल निर्माण कार्य रोक्न आग्रह गरेपछि कामदारहरूले उक्त जग्गा सांसद जंगीलाल राय यादवको भएको दाबी गरे । स्थानीय बासिन्दाहरूले उक्त जग्गा मन्दिरको नाममा रहेको र सामुदायिक रूपमा प्रयोग हुँदै आएको बताउँदै कुनै पनि हालतमा निर्माण कार्य हुन नदिने चेतावनी दिए ।

स्थानीयहरूले जग्गामा कुनै किसिमको निजी स्वार्थले काम हुन नसक्ने बताउँदै सार्वजनिक सम्पत्तिमा गरिएको बलजफ्तीको विरोधमा तत्काल निर्माण कार्य रोक्नुपर्ने माग राखे । सांसद यादवले आफूले वैधानिक रूपमा पूजारी रामसागर दाससँग जग्गा खरिद गरेको दाबी गरे । पूजारी दासले पनि मन्दिरको नाममा रहेको जग्गा २२ लाख रुपैयाँमा सांसद यादवलाई बेचेको स्वीकार गरेका छन् । पूजारीले वार्षिक ४० किलो धान बुझाउने शर्तमा जग्गा बेचेको बताएपछि विवाद थप चर्किएको छ ।

जनकपुरधाम–१४ का स्थानीय युवा उदय कुमार यादवको नेतृत्वमा स्थानीय बासिन्दाहरूले आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियासमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिमा भइरहेको अवैध निर्माण तत्काल रोक्न र मन्दिरको जग्गालाई संरक्षण गर्न माग गरिएको छ । पत्र बुझाउने टोलीमा सोभित साह, बिन्देश्वर यादव, महेन्द्र यादव, राम सरोज यादव, ललिता यादव लगायत अन्य स्थानीय नेता तथा समाजसेवीहरू सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी कडरियाले यस विषयमा सत्यतथ्य बुझेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउने आश्वासन दिए । उनले गुठी संस्थान र मन्दिरका पूजारीसँग परामर्श गरी सम्पत्ति संरक्षणको दिशामा काम गर्न प्रतिबद्ध रहेको बताए ।

सांसद यादवका छोरा अमित यादवले सार्वजनिक मन्दिरको जग्गा वैधानिक रूपमा खरिद गरेको भन्दै उक्त निर्माण कार्य जारी राखेका छन् । तर, स्थानीयहरूले सांसद यादव र पूजारी रामसागर दासबीचको मिलोमतोले सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको आरोप लगाएका छन् । उनीहरूले मन्दिरको जग्गामा कुनै पनि किसिमको निजी निर्माण रोक्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नका लागि कानुनी कारबाहीको माग गरेका छन् ।

यसअघि, स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । उनीहरूले सार्वजनिक सम्पत्तिमा गरिएको बलजफ्ती रोक्न राज्यले पहल गर्नुपर्ने माग गरे ।

अवैध निर्माण जारी

स्थानीयहरूको निरन्तर विरोधकाबीच सांसद यादवका छोरा अमितले मन्दिरको जग्गामा अवैध पर्खाल निर्माणको काम जारी राखेका छन् । कामदारहरू २४सै घण्टा खटेर निर्माण कार्य गरिरहेको देखिएको छ ।

स्थानीयहरूले यस सार्वजनिक सम्पत्तिको संरक्षणको लागि राज्यले तुरुन्त कदम चाल्नुपर्ने र शक्तिको आडमा भइरहेको अनाधिकृत गतिविधि रोक्नका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।