राजविराज, १७ चैत । मधेश कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूले आइतबारदेखि पुनः आन्दोलन सुरु गरेका छन् । उनीहरूले भदौ महिनादेखि तलब नपाएको भन्दै आन्दोलनको बाटो अख्तियार गरेका हुन् ।

यसअघि फागुन १ गते पनि तलब नपाएको भन्दै प्राध्यापक र कर्मचारीहरूले विश्वविद्यालयको प्रशासनिक भवनमा ताला लगाएका थिए । त्यतिबेला, तलब समस्या समाधान गर्ने निर्णय भएको भएपनि अझै उनीहरूलाई तलब दिइएको छैन । यसले प्राध्यापक र कर्मचारीहरूको घरपरिवार चलाउन गाह्रो भएको र उनीहरूको जीवनस्तरमा समस्या आएको उनीहरूले बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री र विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको उपस्थितिमा आयोजित सर्वपक्षीय भेलामा तलब वितरण प्रक्रिया अघि बढाउने निर्णय भएपनि कार्यान्वयनमा समस्या देखा परेको छ । फागुन २० मा भएको सिनेट बैठकले उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि पदमुक्त नगर्ने निर्णय भएपनि कर्मचारीहरूलाई तलब दिनमा अझै ढिलाइ भइरहेको छ । विश्वविद्यालयका रजिस्ट्रार भगवान ठाकुरका अनुसार नीति र कार्यक्रम पास नगरेको कारणले तलब वितरणमा अवरोध आएको छ ।

आन्दोलनका कारण विश्वविद्यालयका विद्यार्थीहरूको पढाइ प्रभावित हुने जोखिम सृजना भएको छ ।