जनकपुरधाम, १८ चैत । मधेश प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ शैक्षिक भवनको शिलान्यास भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम–१४ स्थित मणिमण्डप पछाडिको गुठी जग्गामा उक्त भवनको सोमबार शिलान्यास गरेका हुन् ।

यो शैक्षिक भवनको निर्माणसँगै मधेश प्रदेशमा आधुनिक स्वास्थ्य शिक्षा र सेवा विस्तारको ढोका खुल्ने विश्वास गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार भवनमा अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको सुविधा रहनेछ । उनले यसले विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गर्नुका साथै सम्पूर्ण प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने बताए ।

मुख्यमन्त्री सिंहले शिलान्यास कार्यक्रममा साढे २ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी गराउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न विशेष रणनीति अवलम्बन गरिएको बताए । उनले तोकिएको समयभन्दा अघि निर्माण सम्पन्न गर्ने ठेकेदारलाई प्रोत्साहन (इन्सेन्टिभ) दिइने र ढिलाइ भएमा जरिवाना (पेनाल्टी) लगाइने उल्लेख गरे ।

भवन निर्माण गुठीको जग्गामा हुन लागेकोले केही स्थानीयबासीहरूले बाटो अवरुद्ध हुने आशंका व्यक्त गरेका छन् । तर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले वैकल्पिक सडकको व्यवस्था गरिने प्रतिबद्धता जनाए । साथै, उनले स्थानीय समुदायलाई सामाजिक हितका लागि सहयोग गर्न आह्वान गरे ।

यो भवन निर्माणले मधेश प्रदेशलाई स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । निर्माण सम्पन्न भएपछि प्रतिष्ठानमा विभिन्न चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै भविष्यमा थप आधुनिक स्वास्थ्य पूर्वाधार विकास गर्ने योजना रहेको बताए ।