जनकपुरधाम, १८ चैत । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । प्रदर्शनकारीको आक्रमणबाट एक पत्रकारको मृत्यु हुनुका साथै विभिन्न सञ्चारगृहहरू तोडफोड र आगजनीको निशानामा परे । नेपाल पत्रकार महासंघ धनुषाले घटनालाई प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भन्दै सरकारलाई तत्काल कारबाही गर्न चेतावनी दिएको छ ।

महासंघले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ । महासंघले मृतक पत्रकार सुरेश रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, उनका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, घाइते पत्रकारहरूको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने, तोडफोड र आगजनीमा परेका सञ्चारगृहहरूको क्षतिपूर्ति सरकारले दिनुपर्ने र प्रेस स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेको छ ।

महासंघले सरकारलाई एक साताभित्र ती मागहरू पूरा गर्न चेतावनी दिएको छ । अन्यथा देशभरका पत्रकारहरू सडक आन्दोलनमा उत्रने महासंघको भनाइ छ । घटनामा पत्रकार दिनेश गौतममाथि शारीरिक आक्रमण हुँदा उनको खुट्टा भाँचिएको छ । फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो ।

घटनालाई लिएर महासंघले सरकारको नीतिगत असफलताप्रति असन्तोष व्यक्त गरेको छ । महासंघका पदाधिकारीहरूका अनुसार सरकारले पत्रकारहरूको सुरक्षालाई प्राथमिकतामा नराख्दा यस्ता हिंसात्मक गतिविधिहरू दोहोरिरहेका छन् ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरूलाई विशेष रूपमा लक्षित गरिएको थियो । भिडियो कभर गर्ने क्रममा पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भयो । त्यस्तै, प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा आगजनी गरे भने कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनका भवन तथा सवारीसाधनमा पनि तोडफोड गरे ।

तीनकुनेको घटनाले पत्रकारिता क्षेत्रभित्र त्रासको वातावरण सिर्जना गरेको छ । यदि सरकारले महासंघका माग सम्बोधन गरेन भने यो घटनाले थप ठूलो आन्दोलनको रूप लिने चेतावनी दिइएको छ ।