जनकपुरधाम, चैत १८ गते । नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।

धनुषाको मिथिला नगरपालिका–१ का निवासी स्वर्गीय महतोको १३ औं पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका नेताहरूले उनको परिवारलाई दुई लाख रुपियाँको आर्थिक सहायता हस्तान्तरण गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले स्वर्गीय महतोको परिवारलाई दुई लाख रुपियाँको चेक हस्तान्तरण गर्दै महतोले पार्टीका लागि महत्त्वपूर्ण योगदान गरेको र उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले पार्टीका साथीहरूले सहयोग गरेको बताए।

श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झा, धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियार, मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो लगायतका नेताहरूको उपस्थिति थियो।

श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय महतोको योगदानको स्मरण गर्दै उपस्थित नेताहरूले उनको परिवारलाई आवश्यक सहयोग र समर्थन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।