जनकपुरधाम, चैत १७ गते । जनकपुर–जलेश्वर–भिट्ठामोड सडकखण्ड अन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ लादोवेलादेखि बिन्धीसम्मको क्षेत्रमा वर्षौंदेखि अतिक्रमित भइ बनाइएका भौतिक संरचनाहरू हटाउने काम तीव्र गतिमा भइरहेको छ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले उक्त सडकखण्डमा नाला निर्माणसहितको सडक संरचना निर्माण गर्नुपर्ने भएकाले अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन थालेको हो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार, सडक अतिक्रमण हटाउनका लागि गत माघ २४ गते प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सरोकारवालाको बैठक बसेको थियो। सो बैठकले सडक सीमा क्षेत्र ५० मिटरभित्र निर्माण गरिएका भौतिक संरचनाहरू हटाउनका लागि सूचना प्रकाशन गर्दै सात दिनको समय दिएको थियो।

दिएको समयसीमाभित्र संरचना नहटाएपछि सरोकारवाला निकायको समन्वयमा ती संरचनाहरू हटाउने कार्य तीव्र बनाइएको प्रमुख महतोले जानकारी दिए।

सडकको अढाई किलोमिटर दूरीमा दुवै तर्फ अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने क्रममा एक सय किलोमिटर सडक अतिक्रमणमुक्त भएको र केही स्थानमा प्रहरीको सहायतासमेत लिइएको उल्लेख गरियो। अतिक्रमणले सडकखण्डको पानी निकासीमा समस्या र सडक दुर्घटनाको सम्भावना बढाएको थियो, साथै सवारी पार्किङ गर्न पनि कठिनाइ उत्पन्न भएको थियो। यस समस्याबारे बढ्दो जनगुनासोको आधारमा अतिक्रमण हटाउने पहल गरिएको प्रमुख महतोले बताए ।